काठमाडौं, चर्चित पत्रकार जगदिश खरेललाई मन्त्री पदका लागि नियुक्त गरिएको छ । उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री बनाइएको हो । उनले मन्त्रीको प्रस्ताव आएको स्वीकार्दै सैद्धान्तिक रुपमा सहयोग गर्न तयार रहेको बताएका छन् । खरेलले प्रधानमन्त्री निकटबाटै कुरा आएको बताएका छन् ।
यता सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री नियुक्त गर्न थप ३ जनाको नाम राष्ट्रपति कार्यालय पुगेको छ।मोहना अन्सारी, जगदीश खरेल र महावीर पुनको नाम राष्ट्रपति कार्यालय पुगेको हो। मानव अधिकारकर्मी रहेकी अन्सारीले लिने मन्त्रालयको नाम खुलेको छैन। पत्रकार खरेलले सञ्चार तथा सूचना प्रविधि र वैज्ञानिक पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लिने छन्। उनीहरूको नियुक्ति र शपथ आजै गर्ने शीतल निवासको तयारी छ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले क्याबिनेट विस्तार तयारी गरेकी छन् । भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएको दुई दिनपछि तीनजना मन्त्री नियुक्त गरेकी कार्कीले क्याबिनेट विस्तारका लागि छलफल तीव्र पारेकी हुन् ।
उनले राष्ट्रिय अनुसन्धान केन्द्रका सञ्चालक महावीर पुनलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बन्न प्रस्ताव गरेकी छन् । पुनले पनि शिक्षामन्त्रीको जिम्मेवारी लिन सकारात्मक रहेको जवाफ दिएका छन् । भदौ २३ र २४ गते भएको आन्दोलनपछि जेन–जीको बलमा कार्की प्रधानमन्त्री भएकी हुन् । यसअघि कुलमान घिसिङ ऊर्जामन्त्री, ओमप्रकाश अर्याल गृह तथा कानुन मन्त्री र रामेश्वर खनाल अर्थमन्त्री भइसकेका छन् । जेन–जी युवा अनिल बानियाँका अनुसार महावीरले पाँचथरमा रहेकै बेला मन्त्रीका लागि तयार रहेको संकेत गरेका छन् ।
उनले पाँचथर पुगेर किताब बेचिरहेको अवस्थामा मन्त्री बन्ने प्रस्ताव आएपछि सरकारमा सहभागी हुने जनाउ दिइसकेका छन् । किताब बेच्ने क्रममा पाँचथरमा रहेका बेला बेला पुनले मन्त्रालयको अफर आए उपयुक्त जिम्मेवारी सम्हाल्ने बताएका थिए। यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा सञ्चारकर्मी जगदीश खरेललाई नियुक्त गरिने सम्भावना छ । खरेल इमेज टेलिभिजनका समाचार प्रमुखका रुपमा कार्यरत छन् । प्रधानमन्त्री सुशीला कार्कीले सोमबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेकी छन् । प्रधानमन्त्री कार्कीले विभिन्न पेशा, व्यवसायमा आबद्ध ब्यक्तिहरूसँग छलफल गरेको भए पनि जेन–जीका प्रतिनिधिसँग सहमति हुन नसक्दा मन्त्रिपरिषद् बिस्तारमा ढिलाइ हुँदै आएको हो ।