Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

महावीर पुनको पहिलो सन्देश : योजना होइन, परिणाममुखी काम चाहिन्छ

महावीर पुनको पहिलो सन्देश : योजना होइन, परिणाममुखी काम चाहिन्छ

काठमाडौं, नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालयमा पदभार ग्रहण गर्दै समितिहरू बनाएर मात्रै नहुने, ठोस काममा अघि बढ्नुपर्ने बताएका छन्।

शिक्षा मन्त्रालयमा पदभार ग्रहणका क्रममा मन्त्रालयका कर्मचारीहरूले थिंक ट्यांक गठन सम्बन्धी प्रस्तावमा हस्ताक्षर गर्न आग्रह गर्दा मन्त्री पुनले आर्थिक स्रोतको सुनिश्चितता बिना काम नहुने बताए। “समिति मात्रै बनाएर केही हुदैन, पैसा नभएपछि योजना अलपत्र पर्छ,” उनले स्पष्ट पारे।

उनले विज्ञान मन्त्रालय वर्षौँदेखि देखेको तर ठोस काम नभएको भन्दै आलोचना गरे। “नाम मात्रैको समिति होइन, सानो भए पनि प्रभावकारी काम गरौं,” पुनले भने।

पदभार ग्रहणपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले विज्ञान, प्रविधि र नवप्रवर्तनमा प्राथमिकता दिने बताए। “योजना बनाएर आएको होइन, अचानक मन्त्री बनेको हुँ। अहिले नै के गर्छु भन्ने भन्न सक्दिनँ,” भन्दै उनले विशेषज्ञहरूको सुझावका आधारमा छिटो काम अघि बढाउने बताए।

पुनले आफू औपचारिक रूपमा मन्त्री भए पनि व्यवहारिक रूपमा सामान्य नागरिककै भूमिकामा रहने उल्लेख गर्दै मन्त्रालयमै सुत्ने तयारी रहेको बताए। “मन्त्रालयमा काम गर्न आएको हुँ, सेवासुविधाको लोभ छैन,” उनले भने।

नि:शुल्क शिक्षाबारे प्रश्न उठ्दा उनले यथार्थवादी जवाफ दिए — “म मन्त्री भएको भन्दैमा नि:शुल्क शिक्षा दिन सक्दिनँ, म भगवान होइन।” तर उनले केही सकारात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।