काठमाडाैं,फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेमाथि मानवताविरुद्ध अपराधको आरोप लागेका छन्। अन्तर्राष्ट्रिय अपराध अदालत (ICC) ले सोमबार सार्वजनिक गरेको १५ पृष्ठ लामो आरोपपत्रअनुसार डुटेर्टे राष्ट्रपति र मेयर रहँदा कम्तीमा ७६ जनाको गैरन्यायिक हत्यामा संलग्न रहेको दाबी गरिएको छ। अभियोजनकर्ताहरूले जुलाई ४ मा अदालतमा यो आरोपपत्र पेश गरेका थिए।
डुटेर्टेले कथित लागुऔषध व्यापारी, प्रयोगकर्ता र अन्य अपराधीहरूलाई लक्षित गर्दै हत्या र हिंसात्मक कारबाही गर्न सुरक्षा निकायहरूलाई निर्देशन दिएको आरोप छ। उनले मेयर तथा राष्ट्रपतिको हैसियतमा रहँदा ‘निकासी अभियान’को नाममा दर्जनौं हत्या गराएको भनिएको छ।
तीनवटा मुख्य अभियोगमा उनलाई दोषी ठहर गरिएको दाबी छ। पहिलो अभियोगमा, सन् २०१३ देखि २०१६ को बीच डाभाओ सहरको मेयर रहँदा १९ जनाको हत्या गराएको भनिएको छ। दोस्रो अभियोगमा, राष्ट्रपतिको कार्यकालको सुरुवात सन् २०१६ देखि २०१७ सम्मको अवधिमा १४ जनाको लक्षित हत्या गरिएको उल्लेख छ। तेस्रो अभियोगअनुसार, सन् २०१६ देखि २०१८ को बीच लागुऔषध विरोधी 'निकासी अभियान' अन्तर्गत ४३ जनाको हत्या भएको छ।
डुटेर्टे, उनका कानुनी प्रतिनिधि वा परिवारका तर्फबाट हालसम्म यसबारे कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। राष्ट्रपति हुँदा उनले बारम्बार गैरन्यायिक हत्याको आरोप अस्वीकार गरे पनि लागुऔषध संलग्न व्यक्तिहरूलाई गोली हान्न खुला निर्देशन दिएको इतिहासमा उल्लेखनीय अभिव्यक्ति दिएका थिए। उनले प्रहरीले प्रतिरोधमा गोली चलाउन सक्ने भन्दै हिंसात्मक कार्यलाई खुलेर समर्थन गरेका थिए।
यसैबीच, डुटेर्टेका समर्थकहरूले यो मुद्दा राजनीतिक प्रतिशोध भएको आरोप लगाएका छन्। उनीहरूले अहिलेका राष्ट्रपति फर्डिनान्ड मार्कोस जूनियरको प्रशासनमाथि पूर्वराष्ट्रपति डुटेर्टेलाई निशाना बनाएको आरोप लगाएका छन्। साथै, आइसिसीको फिलिपिन्समाथिको क्षेत्राधिकार नै विवादास्पद रहेको तर्क पनि राखिएको छ।
मार्चमा डुटेर्टेलाई आइसिसीको पक्राउ पूर्जी जारी भएपछि नेदरल्यान्ड्सस्थित आइसिसीको हिरासतमा राखिएको थियो। मंगलबारदेखि सुरु हुने भनिएको अदालत सुनुवाइ डुटेर्टेमाथि मुद्दा चलाउन मिल्ने कि नमिल्ने भन्ने कानुनी बहस टुंगो लाग्न नसकेपछि स्थगित गरिएको छ। न्यायाधीशहरूले उक्त विषयमा निर्णय गर्न थप समय मागेका छन्।