काठमाडौं, कांग्रेसका नेता सुनिल शर्माले महावीर पुनविरुद्ध फैलाइएको ‘छोरीलाई १ करोड खर्च गरेर विदेश पठाइएको’ भन्ने हल्ला पूर्णतः निराधार र बदनियतपूर्ण भएको बताएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शर्माले उक्त आरोप कुनै आधारविना गरिएको बताएका छन । पुनकी छोरीलाई ढाका विश्वविद्यालय अन्तर्गत जहारूल इस्लाम मेडिकल कलेज, वाजितपुरमा भर्ना गराइएको बताउँदै शर्माले त्यसमा १ करोड खर्च भएको भन्ने समाचार असत्य भएको प्रस्ट पारे। “एमबिबिएस अध्ययनका लागि मासिक शुल्क ६२१ अमेरिकी डलर अर्थात् करिब ८७ हजार रुपैयाँ पर्छ। कुल खर्च करिब ४१ हजार अमेरिकी डलर हुन्छ। अहिले सम्म महावीर सरले ५० प्रतिशत भन्दा बढी मात्रै तिरेका छन्,” शर्माले भने। उनका अनुसार आर्थिक सहयोगको प्रस्ताव गर्दा पुनले ‘म आफैँ जुटाउँछु’ भन्दै अस्वीकार गरेका थिए।
शर्माले स्मरण गर्दै भने, ’मैले व्यक्तिगत रूपमा पनि उनको छोरीलाई नेपालमै छात्रवृत्तिमा पढाउन प्रयास गरेको थिएँ। तर त्यो सफल हुन सकेन। त्यसपछि मैले मेरो साथी डा. नरेन्द्र मिश्रमार्फत ढाकामा भर्ना गराउने व्यवस्था मिलाएको हुँ। पुन सरबाट कुनै कन्सल्टेन्सी शुल्क पनि लिइएको छैन।’ उनले महावीर पुनविरुद्धको हल्लालाई नियोजित षड्यन्त्रको संज्ञा दिँदै भने, “महावीर पुन सरजस्ता इमानदार र निस्वार्थ समाजसेवीमाथि आधारहीन आरोप लगाउनेहरू गलत नियतका हुन्। सत्य स्पष्ट छ, यस्तो हल्ला असफल हुनुपर्छ।” शर्माले पुनसँगको पहिलो भेट सम्झिँदै उनको सरलता र इमानदारीको उदाहरण पनि दिएका छन्। उनले भने, “हामीले आत्मवृत्तान्त पुस्तक खरिद गर्दा फिर्ता दिने पैसा उहाँसँग थिएन।
हामीले ‘आविष्कार केन्द्रलाई नै भयो’ भने पनि उहाँले पैसा खोजेर ल्याएर फिर्ता गर्नुभयो। त्यस्तो व्यवहार देखेर हामी छक्क पर्यौं।” नेता शर्माले महावीर पुनप्रति निरन्तर समर्थन र उत्साह दिन सबैलाई आग्रह गर्दै प्रमाण र सत्यमा आधारित भएर मात्र बोल्नुपर्ने बताएका छन्।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं आविष्कार केन्द्रका संस्थापक रहेका महाबीर पुनकी छोरी एक करोड तिरेर बंगलादेशमा एमबीबीएस गरिरहेको खुलेको भन्दै केही मिडियाहरुमा समाचार समेत आएका थिए ।
सुनिल शर्माले लखेका छन,हाल बजारमा महावीर पुन सरमाथि “छोरीलाई १ करोड खर्च गरेर विदेशमा पढाइएको” भन्ने आपराधिक हल्ला लगाइएको छ। यो हल्ला पूर्ण रूपमा झुट्टा, निराधार र बदनियतपूर्ण मात्र हो। मलाई थाहा छ मैले आज यो विषयमा कलम नचलाउँदा पनि हुन्थ्यो। तर मेरो मनले मानेन। मलाई ३ दिनदेखि छटपट्टी भइरहेको थियो। यस बिषयमा लेखे भने समाजले मलाई पनि “गुलाम” भनेर सत्य नलेख भन्ला कि भन्ने डर थियो। भन्दै एक लामो स्टाटस लेखेका छन ।