आज यो धर्ती रुँदैछ,
माटोको मुहारमा आँसुका थोपा टल्किन्छन् —
जहाँ कहिल्यै गर्वले फुल्थ्यो गहुँको बाला,
त्यहाँ अब पसिनासँग मिसिएको पीडा पलाउँछ।
हिमालको छायाँमै पनि बेचैन हावा चल्छ,
तराईको हरियो अन्नबालीमाथि परदेशी आँखा तन्किन्छ,
र सहरका गल्लीहरूमा
भेष बदलेका स्वार्थी मुस्कानहरू बिस्तारै फैलिँदैछन्।
कोही धर्मको नाममा आगो बाल्दैछ,
कोही भाषाको नाममा चर्को नारा लगाउँछ,
कोही विदेशी सहायताको भेषमा
सार्वभौमसत्ताको बुटोमा घोँचो हान्दैछ।
देशका सन्तानहरू,
हामी आपसमा किन लड्दैछौं?
हाम्रो हातमा एउटै माटोको धुलो छैन र?
हाम्रो रगतमा एउटै धुन, एउटै मुटुको धड्कन छैन र?
सगरमाथाले हेरेर सोध्दैछ —
“म त अझै अटल उभिएको छु,
तिमीहरू किन यति कमजोर भयौ?”
तर हजुर, अझै ढलेको छैन यो देश,
अझै सुस्केरा छ बाँकी हरेक नेपालीको सासमा।
आउँ, हामी सबै उमेरका हातहरू जोडौं,
एकआपसमा सद्भावका फूलहरू फुलाऔं।
बालकको भविष्य, वृद्धको अनुभव,
युवाको ऊर्जा र आमाको माया मिलाऔं,
देशको भाग्य फेरौं,
देश बेच्ने होइन, देश बचाउने शपथ खाऔं।
आउँ, फेरि उठाऔं यो ध्वज —
रातो रङ र रगतको सम्मानमा,
नीलो रङ र आकाशको स्वाभिमानमा।
हाम्रो नेपाल, हाम्रो अस्तित्व,
सगरमाथाको शिर जस्तै
सदासर्वदा उचो रहोस् —
विश्वसामु, नतमस्तक नभई, गर्वका साथ उभियोस्।
(कविताका रचनाकार खगेन्द्र सिंह धामी "मौसम" टोखा नगरपालिकाका शिक्षा अधिकृत हुन्)