Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

आजदेखि प्रसारण हुँदै विश्वकै पहिलो ‘कृषि गेम रियालिटी शो’

आजदेखि प्रसारण हुँदै विश्वकै पहिलो ‘कृषि गेम रियालिटी शो’

काठमाडौं, विश्वमै पहिलो पटक निर्माण गरिएको कृषि–केन्द्रित गेम रियालिटी शो ‘रिभोल्युशनरी एग्रिकल्चर वार’ आज (विहीबार)देखि औपचारिक रूपमा प्रसारणमा आउने भएको छ।

कार्यक्रम आज राति ८ बजे हिमालय टेलिभिजनमा र राति ८:१५ बजे ओएसआर रियालिटी युट्युब च्यानलमार्फत प्रसारण हुनेछ।

यसअघि बुधबार राजधानीको सिटी सेन्टरमा आयोजना गरिएको प्रिमियर शोमा उपस्थित दर्शकले कार्यक्रमलाई अत्यन्त रुचाएका थिए। शोमा प्रस्तुत नवीन अवधारणा र प्रस्तुतिलाई प्रशंसा गरिएको थियो।

कार्यक्रमको ‘महाहोस्ट’को रूपमा महानायक राजेश हमाल रहेका छन् भने शोको परिकल्पना, निर्माण तथा निर्देशन शैलेश कँडेल क्षेत्रीले गरेका हुन्।निर्देशक कँडेलका अनुसार, शोको मूल उद्देश्य कृषकलाई सशक्त बनाउने, कृषि व्यवसायलाई सम्मानित पेशाको रूपमा स्थापित गर्ने र कृषिप्रति समाजको दृष्टिकोण सकारात्मक बनाउन मद्दत पुर्‍याउने हो।

त्यस्तै, महाहोस्ट हमालले शोले देशको अर्थतन्त्रमा टेवा पुर्‍याउने, कृषकलाई प्रोत्साहन दिलाउने र युवाहरूलाई आधुनिक कृषि पेशातर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरे।उनका अनुसार, यो कार्यक्रमले दर्शकहरूलाई कृषि कर्मको महत्व, चुनौती र सम्भावनाबारे जानकारी दिनुका साथै मनोरञ्जन र प्रेरणा दुवै प्रदान गर्नेछ।

कार्यक्रममा किसान र कृषि प्राविधिक गरी दुई समूहका प्रतिस्पर्धीहरूबीच रोचक प्रतिस्पर्धा देख्न सकिनेछ।शोका निर्माताहरूका अनुसार, ‘रिभोल्युशनरी एग्रिकल्चर वार’ नेपाली टेलिभिजनमा नयाँ ढंगको प्रयोगका रूपमा प्रस्तुत भएको छ, जसले कृषि क्षेत्रलाई प्रविधि, प्रतिस्पर्धा र मनोरञ्जनसँग जोड्ने लक्ष्य राखेको छ।