Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

स्थानीय बजारमा सुन र चाँदीको मूल्य फेरि घट्यो

स्थानीय बजारमा सुन र चाँदीको मूल्य फेरि घट्यो

काठमाडौँ, सोमबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सोमबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेर २ लाख ३९ हजार ९०० रुपैयाँ पुगेको हो। आइतबार यसअघि सुनको मूल्य तोलामा २ लाख ४१ हजार ९०० रुपैयाँ निर्धारण गरिएको थियो।

तिहारअघि सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँ पुगेको थियो। तर, तिहार बिदापछि बजार खुलेसँगै आइतबार मात्र सुनको मूल्यमा ११ हजार ६०० रुपैयाँको तीव्र गिरावट आएको थियो। सोमबार पनि सो गिरावट निरन्तर रहँदा सुनको कारोबार घटेको देखिएको छ।

यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला ३ हजार १५ रुपैयाँ रहेको चाँदी सोमबार घटेर २ हजार ९८० रुपैयाँ कायम भएको हो।

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा नै सुन–चाँदीको मूल्यमा गिरावट देखिएको हुनाले यसको असर स्थानीय बजारमा पनि परेको हो।