Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

४२ करोड नतिरेपछि इजरायली कम्पनीले नेपाल वायुसेवासँगको इन्जिन सम्झौता गर्‍यो रद्द

४२ करोड नतिरेपछि इजरायली कम्पनीले नेपाल वायुसेवासँगको इन्जिन सम्झौता गर्‍यो रद्द

काठमाडौं, इजरायलको इजरायल एरोस्पेस इन्डस्ट्रिज (IAI) ले करिब ४२ करोड रुपैयाँ बराबरको भुक्तानी नपाएपछि नेपाल वायुसेवा निगम सँगको इन्जिन लिज सम्झौता रद्द गरेको छ। सम्झौता खारेज भएपछि निगमको लुम्बिनी नामक ए–३२० विमान उडाउन नसकिने भएको छ, जसका कारण निगमले दैनिक करोडौं रुपैयाँबराबरको कारोबार गुमाइरहेको छ।

IAI ले बुधबार पठाएको इमेलमा पटक–पटक ताकेता गर्दा पनि अमेरिकी डलर ३.१३ मिलियन (करीब ४१ करोड ७१ लाख रुपैयाँ) नतिरेकाले सम्झौता रद्द गरिएको उल्लेख छ। कम्पनीले नेपाल एयरलाइन्सलाई इन्जिनको प्रयोग तुरुन्त बन्द गरी इजरायलमा फिर्ता पठाउन निर्देशन दिएको छ।

निगमले २०८० माघदेखि उक्त इन्जिन प्रयोग गर्दै आएको थियो। तीन महिनाका लागि भाडामा लिइएको इन्जिन अहिले २२ महिनासम्म चलाइए पनि भुक्तानी गरिएको छैन। साथै, निगमले IAI लाई दुई इन्जिनको मर्मतबापत पनि करिब १ अर्ब १२ करोड रुपैयाँ तिर्न बाँकी छ। कम्पनीले शीघ्र भुक्तानी नभए कानुनी कारबाहीमा जाने चेतावनी दिएको छ।

गत हप्ता अवकाशप्राप्त कार्यकारी अध्यक्ष युवराज अधिकारीले IAI का स्थानीय प्रतिनिधिसँग अनौपचारिक छलफल गरे पनि ठोस सहमति हुन सकेको छैन। झन्डै तीन महिना ग्राउन्डेड विमानका कारण बढ्दो घाटा सामना गरिरहेको निगमले अब नयाँ नेतृत्वबाट विवाद समाधानको अपेक्षा राखेको छ।