शुक्रबारबाट प्रदर्शनमा आएको ‘परान’ फिल्मले भावनात्मक कथावस्तुका कारण दर्शकको मन जित्न सफल भएको छ । हलमा फिल्म हेर्न पुगेका धेरैजसो दर्शकको आँखामा आँसु देखिनुले यसको भावनात्मक प्रभावलाई दशाउँछ ।
फिल्म हेर्ने क्रममा दर्शकहरू हलभित्रै रोएका दृश्य यतिबेला टिकटकमा छ्यापछ्याप्ती बनेका छन् । शुक्रबार एक पुरुषले फिल्म हेरिसकेपछि भक्कानिएर रोएको भिडियो सामाजिक सञ्जालमा भाइरल नै बनेको छ । एक बालिकाले हलभित्र रुँदै आफ्नो बुबालाई अंकमाल गर्दै विदेश छाडेर नजाने अठोट गरेको दृश्यले पनि फिल्मप्रति दर्शकको चासो बढाएको छ ।
उत्कृष्ट प्रतिक्रिया बटुल्न सफल भएको छ । ‘सक्किगोनी’मा ‘काकु’ नामको पात्रमार्फत चिनिएका दीपक प्रसाद आचार्यको डेब्यू निर्देशन रहेको फिल्मले आफ्नो कथावस्तु, सोमाथिको अभिनय र प्रस्तुतिको दर्शकहरूले तारिफ बटुलिरहेका छन् ।प्रतिक्रिया जनाउने क्रममा डेब्यू निर्देशनमै उत्कृष्ट काम देखिएको दर्शकहरूको भनाइ छ । यस्तै, केन्द्रीय भूमिकामा रहेका नीर शाहको कामलाई पनि उत्तिकै मनपराइएको छ ।
अन्य कलाकारहरूले पनि आफ्नो कामका लागि प्रशंसा बटुलेका छन् ।फिल्मले नकारात्मक प्रतिक्रिया लगभग पाएको नै छैन भने पनि हुन्छ ।फिल्म हेर्ने धेरै दर्शकहरू भावुक बनेका छन् र कथासँग आफूलाई जोडिरहेका छन् ।परिवार, माया र सम्बन्धका यथार्थ दृश्यहरूले मानिसको मन छोइरहेका कारण ‘परान’ लाई देशभर उत्कृष्ट ‘वर्ड अफ माउथ’ प्राप्त भइरहेको छ ।
रिलिजको अघिल्लो दिन भएको प्रिमियरमा पनि थुप्रै सेलिब्रेटी, राष्ट्रिय व्यवसायीहरूका साथमा पत्रकार तथा सम्पादकहरूले फिल्मलाई नेपाली माटो, समाज र हरेक नेपाली घरको भावना समेटेको फिल्मको रूपमा प्रशंसा गरेका थिए । दीपक प्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको यो फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । चर्चित व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यले फिल्मको निर्माण गरेका हुन् ।