Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

जेनजी मन्त्री गुप्ताको एक्सनपछि फागुनको पहिलो सातामै हुने भयो १०औँ राष्ट्रिय खेलकुद

जेनजी मन्त्री गुप्ताको एक्सनपछि फागुनको पहिलो सातामै हुने भयो १०औँ राष्ट्रिय खेलकुद

काठमाडौं : १० औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ। 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको १२३ औँ बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने १० औँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो।

२०३८ सालमा पहिलो पटक आयोजना भएको राष्ट्रिय खेलकुद प्रत्येक दुई वर्षमा आयोजना गर्ने प्रावधान रहेको छ। यस हिसाबले अहिलेसम्म राष्ट्रिय खेलकुदको २२ संस्करण हुनुपर्ने हो। यद्यपि निर्धारित समयमा गर्न नसक्ने रोगका कारण अहिले कर्णाली प्रदेशमा हुने भनिएको राष्ट्रिय खेलकुदको बल्ल १० औँ संस्करण हुँदै छ। त्यसको पनि पाँचौँ पटक मिति तय भएको हो। 

२०७९ कात्तिक ३ गते पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदले दुई वर्षपछि कर्णालीमा भेट्ने वाचा गर्दै विश्राम लिएको थियो । त्यसबेला १० औँ राष्ट्रिय खेलकुदको मिति २०८१ साल मङ्सिर २ देखि ९ गतेसम्म तोकिएको थियो तर अहिलेसम्म १० औँँ संस्करण हुन सकेको छैन। 

पोखरामा तोकिएको मिति सुरुवातमै अलपत्र पर्यो‍। चैत २३ देखि ३० गतेसम्म आयोजना गर्ने गरी दोस्रो पटक तोकिएको मितिमा पनि राष्ट्रिय खेलकुद हुन सकेन। राखेपले २०८२ जेठ ३ देखि १० गतेसम्म घरेलु खेलकुदको महाकुम्भ हुने भनी अर्को मिति तोकयो। त्यो पनि भएन।

त्यसपछि राखेपले गत चैत २९ गते १० औँ राष्ट्रिय खेलकुद स्थगित गरेको थियो। सो समय राखेपले नयाँ मिति पनि तोक्न सकेको थिएन। सो बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्वधावक जितबहादुर केसीलाई २५ लाख रुपियाँ पुरस्कार दिन मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ। 

त्यस्तै लामो समयदेखि राष्ट्रिय प्रतियोगिता नगर्ने राष्ट्रिय खेल सङ्घलाई तीन महिनाभित्र राष्ट्रिय प्रतियोगिता गर्न निर्देशन दिने, राष्ट्रिय खेल सङ्घ आफैँले घोषणा गरेको खेलाडीको सुविधा र पुरस्कार १५ दिनभित्र सम्बन्धित खेलाडीलाई उपलब्ध गराउन निर्देशन दिने, खेल सङ्घले वैदेशिक भ्रमणसम्बन्धी प्रतिवेदन राखेपमा पेस गर्न निर्देशन दिनेलगायतको निर्णय गरेको छ।

राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले सहजीकरण गरेको बैठकमा राखेपका उपाध्यक्ष ध्रुव आचार्य, खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, बोर्ड सदस्यलगायतको उपस्थिति रहेको थियो।