Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

क्रिकेट टिमलाई विमानस्थलमा खेलकुदमन्त्री र पारस खड्काले स्वागत गरे, अबको ध्यान एनपीएलमा

क्रिकेट टिमलाई विमानस्थलमा खेलकुदमन्त्री र पारस खड्काले स्वागत गरे, अबको ध्यान एनपीएलमा

काठमाडौँ- विश्वकप छनोट हुँदै आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको यूएई शृङ्खला सम्पन्न गरी नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ। शृङ्खलामा चारै खेलमा पराजित भएको नेपाल मध्यरातमा काठमाडौँ आइपुगेको हो। अब खेलाडीहरूले आगामी मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तयारीमा गर्नेछन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुदमन्त्री बब्लु गुप्ता, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कालगायतका पदाधिकारीले टोलीलाई स्वागत गरेका थिए।

यूएई शृङ्खलामा नेपालले पहिलो खेलमा अमेरिकासँग १०६ रनले, दोस्रो खेलमा यूएईसँग ५ विकेटले, तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले र चौथो खेलमा पुनः यूएईसँग ४ विकेटले पराजय भोगेको थियो। चारै खेल गुमाएपछि नेपालले अंकतालिकामा २० खेलपछि जम्मा १२ अंकसहित सीमित रहनु परेको छ।

यसअघि नेपालले यूएईमै वेस्टइन्डिजविरुद्धको ‘युनिटी सिरिज’ जितेको थियो। त्यसपछि ओमानमा सम्पन्न टी-२० विश्वकप छनोट प्रतियोगितामा पनि उपाधि उचाल्दै नेपालको प्रदर्शन प्रभावशाली बनेको थियो।

वेस्टइन्डिजविरुद्धको सिरिजका लागि यूएई पुगेको नेपाली टोली त्यसपछि ओमानमा विश्वकप छनोट खेल्न पुगेको थियो। लगातार दुई ट्रफी जितेपछि विश्वकप लिग-२ को खेलका लागि फेरि यूएई पुगेको टोली व्यस्त तालिका र लामो विदेश बसाइपछि अन्ततः स्वदेश फर्किएको हो।