काठमाडौँ । भारत विरुद्ध नेपालले सहज जित निकालेको छ । नेपालले हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगितामा भारतलाई हराउँदै पहिलो जित निकालेको हो । शनिबार बिहान हङकङमा भएको खेलमा नेपालले भारतलाई ९२ रनले हराएको हो। जारी प्रतियोगितामा यसअघि लगातार तीन हार भोगेको नेपाली क्रिकेट टोलीले चौथो खेल जितेको हो। नेपालले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको भारत ३ ओभरमा ४५ रन बनाउँदा अलआउट भयो। नेपालका लागि रासिद खानले ३ विकेट लिए।
बसिर अहमदले २ तथा रुपेश सिंहले १ विकेट लिए। भारतविरुद्ध नेपालले निर्धारित ६ ओभरमा विनाविकेटको क्षतिमा १ सय ३७ रनको योगफल तयार पारेको थियो। नेपालका लागि रासिद खान अर्धशतक बनाउँदै रिटायर्ट हर्ट भए। उनले १७ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै रिटायर्ट हर्ट भए। सन्दीप जोरा १२ बलमा ४ चौका र ५ छक्का सहयोगमा ४७ रनमा अविजित रहे। लोकेश बम ७ बलमा १ चौका र ४ छक्का सहयोगमा ३१ रनमा नटआउट रहे। अब नेपाल आइतबार संयुक्त अरब एमिरेन्ट्स (यूएई) सँग भिड्नेछ।