Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतको लाल किल्लामा कार विस्फोट : ११ जनाको मृत्यु

भारतको लाल किल्लामा कार विस्फोट : ११ जनाको मृत्यु

काठमाडौं । भारतको राजधानी दिल्लीको लाल किल्लानजिक सोमबार साँझ करिब ७ बजे कारमा भएको विस्फोटमा परेर ११ जनाको मृत्यु भएको छ । २० भन्दा बढी मानिस घाइते भएको भारतका संचारमाध्यमहरुले जनाएका छन् ।

विस्फोटपछि दिल्ली–एनसीआरलाई सतर्क अवस्थामा राखिएको बताइएको छ । बिस्फोटमा प्रयोग भएको आई–२० कारका मालिकको पहिचान भएको भारतीय प्रहरीले बताएको छ । प्रारम्भिक अनुसन्धानमा विस्फोट भएको कार धेरै पटक बेचिएको पाइएको बताइएको छ ।

जुन एचआर–२६–सीई ७६७४ नम्बरको कारमा विस्फोट भएकोमा त्यसको दर्ता गुरुग्राम, हरियाणा निवासी सलमानको नाममा छ । प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । 

उनले उक्त कार ओखला निवासी देवेन्द्रलाई बेचेको बताएका छन् । देवेन्द्रले त्यो कार अम्बालामा तेस्रो व्यक्तिलाई बेचे । त्यहाँबाट काश्मीरको पुलवामा निवासी तारिकलाई बेचेको पाइएको संचारमाध्यमहरूले जनाएका छन् ।

सन् २०१९ मा पुलवामामा पनि आतंककारीहरूले यसैगरी एउटा गाडीमा विस्फोटक पदार्थ भरेर विस्फोट गराएका थिए, जसमा ४० भारतीय जवान मारिएका थिए । 

विस्फोट भएको कारका मालिकको पहिचान 
भारतीय संचार माध्यमहरू अनुसार दिल्लीको लाल किल्ला मेट्रो स्टेशनमा भएको बम विस्फोटको घटनामा महत्वपूर्ण मोड आएको छ । 

घटनाको अनुसन्धान गरिरहेको गुरुग्राम प्रहरीले गुरुग्रामको शिवाजी नगर प्रहरी चौकी क्षेत्रका बासिन्दा सलमान नामक एक व्यक्तिलाई हिरासतमा लिएको छ । 

प्रहरीको सोधपुछमा सलमानले दिल्लीको ओखलामा एक व्यक्तिलाई गाडी बेचेको कुरा स्वीकार गरेका छन् । सीआईए मानेसरका प्रमुख ललितको नेतृत्वमा अनुसन्धान चलिरहेको छ । दिल्लीको स्पेसल सेलको टोली पनि घटनास्थलमा पुगेको छ ।