Shares
Shares
काठमाडौँ । अस्ट्रेलिया कर्मथलो बनाएका रुपन्देहीका माधव न्यौपानेले गीति कथा ‘कठै म त’ रिलिज गरेका छन् । मङ्गलवार राष्ट्रिय नाच घरमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा सम्पन्न एक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रिता थापा मगरको प्रमुख आतिथ्यतामा गीति कथा ‘कठै म त’को रिलिज गरिएको हो ।
एमएम इन्टरटेनमेन्ट एन्ड इभेन्टको प्रस्तुतिमा सार्वजनिक गीति कथामा माधव न्यौपानेको गीत र खुमन अधिकारीको सङ्गीतमा अधिकारीसँगै देवी घर्ती मगर, शान्ति श्री परियार र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । गीति कथामा लक्ष्मी गिरी, गौरव पहाडी, सिरु विष्ट, विशाल पहाडी, मोहन खड्का, सरिता धनकुटी, स्वस्तिका लामिछाने, बिपना घिमिरे, बिनिराम न्यौपाने, दिपसागर, विराज सापकोटा लगायतको अभिनय रहेको छ ।
टेकेन्द्र शाहको सम्पादन रहेको गीति कथाको भिडियोमा करण चैसर र काश गुरुङले छायाङ्कन गरेका छन् । माधव न्यौपानेकै कथा, निर्माण र निर्देशन रहेको भिडियोमा मनोज केसी समयको न्यारेसन रहेको छ । टौवा क्रियशनले पब्लिसिटी डिजाइनमा भूमिका खेलेको छ । निर्मला हत्याकाण्ड पछि सृजित कथा र गीतमा बलात्कार र सजायलाई मूलभूत रूपमा उठान गरिएको छ ।
रिलिज कार्यक्रममा भिडियो हेर्दै गर्दा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रिता थापा मगर रोइन् । भिडियोमा उतारिएको कथाले आफूलाई छोएको बोल्ने क्रममा उनले अनुभूति साटिन् । ‘महिलामाथि हुने गरेको हिंसालाई न्यूनीकरणको ध्येयले निर्माण गरिएको गीत र कथाले सामाजिक सन्देश बोकेको महसुस गरे । यो भिडियो धेरै भन्दा धेरै दर्शकको माझमा पुग्न सक्यो भने चेतना प्रवाहमा टेवा पुग्दछ ।’ उनले भनिन् ।
कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रमेश प्रसाईँले छोरीहरू असुरक्षित हुनुपर्ने समाज परिवर्तनको चाहना बोकेर आफूहरू राजनीतिमा होमिएको बताए । उनले भने, ‘छोरी र छोरालाई दिने संस्कारका कारण पनि महिला माथिको हिंसा बढिरहेको छ । अभिभावकले दिने शिक्षालाई समान रूपमा अघि बढाउन सके मात्रै घटनाहरूमा कमी ल्याउन सकिन्छ ।’
सर्जक माधव न्यौपानेले निर्मला हत्याकाण्डले आफूलाई मर्माहत पारेको र त्यसै बेला देखि कथाको बीजारोपण भएको र लामो कसरत पछि भिडियो रिलिज गर्न सफल भएको बताए । उनले भने, ‘सामाजिक कथामा गीत र भिडियो निर्माण गरेका छौँ । लगानी पनि ठुलो छ, धेरै वर्ष खर्चिएको छु । २६ मिनेट लामो भिडियो तयार पारेका छौँ । महानायक राजेश हमाल राखेर भिडियो निर्माण गरिएको थियो । निर्देशकको काम मन नपरेपछि त्यसलाई डिलिट हानेर अर्को सेटमा काम गरेका हौँ ।’ दोस्रो भिडियो सम्म आउँदा २५ लाख खर्च भएको निर्माता समेत रहेका न्यौपानेको दाबी छ ।
रिलिज कार्यक्रममा वरिष्ठ कलाकार लक्ष्मी गिरी, अभिनेता गौरव पहाडी, गायिका शर्मिला गुरुङ, गायक खुमन अधिकारी, गायिका देवी घर्ती मगर, शान्ति श्री परियार, सुनिता बुढा क्षेत्री, कलाकार स्वस्तिका लामिछाने, सरिता धनकुटी लगायतले गीति कथाको विषय र सन्देशबारे धारणा राख्दै सफलताको शुभकामना दिए ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले गीति कथा मार्मिक बनेकाले सामाजिक चेतना प्रवाहको अस्त्र बन्ने विश्वास लिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्मा लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा लोक सञ्चारकर्मी नेपालका उपाध्यक्ष हरि प्रसाद दुलालले स्वागत मन्तव्य राखेका थिए । सचिव कमल सरगमले कार्यक्रम सञ्चालन गरेका थिए ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209