स्पेन "लोक संस्कृतिको जगेर्ना प्रवासमा हाम्रो पहिचान, लोक कलाकारहरुमा एकता समृद्ध नेपालको अभियान" भन्ने मूल नाराका साथ यसै साता (4 Nov) स्पेनको बार्सिलोना सहरमा "राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, युरोप शाखाको चौथो अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ। युरोपका ३१ देसबाट प्रतिनिधि सहभागी उक्त अधिवेशनले वर्ष २०२५-२०२८ का लागि नोर्वेबासी सुवास पुन मगरको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा विनीता लामिछाने (फिनल्यान्ड), उपाध्यक्षहरुमा किरण दीप (डेनमार्क), दिनेश खड्का(पोर्चुगल), दीपक बुढाथोकी (पोर्चुगल) र महिला उपाध्यक्षमा कला पंगेनी (पोर्चुगल) रहनुभएको छ। त्यसै गरी महासचिवमा पुस्तक रेग्मी (पोर्चुगल) र सचिवमा अमृत विश्वकर्मा, श्याम क्षेत्री (स्पेन) र दुर्गा के. सी. चयन हुनुभएको छ भने कोषाध्यक्षमा विनोद भण्डारी (फिनल्यान्ड) र सह-कोषाध्यक्षमा ऋतिका कुँवर (पोर्चुगल) हुनुहुन्छ। त्यस्तै सदस्यमा क्रमशः डिला विश्वकर्मा, एरिका शर्मा, नुर्जा खान, अर्जुन गैरे, यम थापा मगर, नुर्जा परियार, अनुजा खनाल. ऋतु परियार, देवकी थापा, सीता सुवेदी, गङ्गा आचार्य, सजना वोस्तोला, जानुका आचार्य,अनु गुरुङ, हरिकृष्ण गोतामे, मीरा राई, केशु पुन, तेज गहा मगर र अङ्किता घर्ती मगर महेन्द्र क्षेत्रि निर्वाचित् हुनुभएको छ। प्रतिष्ठानका केन्द्रीय सचिव दुर्गा पङ्गेनीको रोहबर तथा यूरोप शाखाका संस्थापक अध्यक्ष सुमी घिमिरे सापकोटाको संयोजनमा आयोजित उक्त अधिवेशनको औपचारिक चरणमा अध्यक्ष पुर्णबहादुर अर्यालको अध्यक्षता, नेपालकै पहिलो दोहोरी 'पुकार दोहोरी साँझ' काठमाडौंका सञ्चालक, साङ्गीतिक अभियन्ता तथा समाजसेवी मुक्त गुरुङको प्रमुख आतिथ्यता, निवर्तमान अध्यक्ष भगवान भुजेलको सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष सुवासचन्द्र पुन मगरको स्वागत मन्तव्य रहेको थियो।
स्पेन, बार्सिलोनामा क्रियाशील एनआरएनए (NRNA) लगायत अन्य संघसंस्थाको पनि उल्लेख्य उपस्थिति रहेको अधिवेशनमा कलाकारहरुले लामो समयको अन्तराल पछि प्रत्यक्ष दोहोरी सहितका प्रस्तुति दिएर भरपूर मनोरञ्जन प्रदान गरेका थिए। नवनिर्वाचित अध्यक्ष पुनले आफ्नो कार्यकालमा युरोपभित्र छरिएर रहेका कलाकारलाई एकजुट बनाउँदै नेपाली लोक गीत सङ्गीतको जगेर्नाका निम्ति क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै गरी प्रमुख अतिथि गुरुङले प्रतिष्ठान, युरोप शाखाको उत्साहजनक गतिविधिले आफू खुसी भएको भन्दै यस संस्थाका गतिविधिप्रति सधैँ सद्भाव, सहयोग र सहभागिता रहने वचनबद्धता जाहेर गर्नुभयो।
त्यस्तै प्रतिष्ठान, युरोप शाखाका संस्थापक अध्यक्ष सुमी घिमिरे सापकोटाले आफ्नो संयोजनमा आयोजित अधिवेशन सम्पन्न गराउन युरोपभरिबाट आएका प्रतिनिधिहरुको व्यवस्थापनमा खटिनुहुने तथा भरपूर आर्थिक, भौतिक, नैतिक सहयोग पुर्याउनु हुने स्पेनबासी संस्थाहरु, विशिष्ट व्यक्तिहरु तथा युरोपका अन्य देसका संस्था एवं व्यक्तिहरुको उच्च मूल्याङ्कन गर्दै सधैँ यसैगरी सबैको साथ सहयोग मिलिरहोस् भन्ने चाहना प्रकट गर्दै सहयोगी सबैप्रति आभार प्रकट गर्नुभयो। हाम्रो तर्फदेखि पनि २०२५-२०२८ का लागि निर्वाचित कार्य समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना छ ।