Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

फरेन्सिक ल्याबले पनि पुष्टि गर्यो देउवा, प्रचण्ड र खड्काको घरमा पैसा नै जलेको थियो

फरेन्सिक ल्याबले पनि पुष्टि गर्यो देउवा, प्रचण्ड र खड्काको घरमा पैसा नै जलेको थियो

काठमाडौँ- भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनीमा परेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस नेता दीपक खड्काको घरबाट संकलन गरिएको खरानीमा नेपाली तथा विदेशी मुद्राका अवशेष भेटिएको फरेन्सिक रिपोर्ट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्राप्त गरेको छ।

ती घरका जलेका अवशेष विभाग तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले घटनापछि संकलन गरी नेपाल प्रहरीको फरेन्सिक प्रयोगशालामा पठाएको थियो। रिपोर्ट केही दिनअघि आए पनि विभागले औपचारिक रूपमा सार्वजनिक गरेको छैन।

स्रोतका अनुसार, विभाग र सीआईबीको संयुक्त टोलीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, देउवा, प्रचण्ड र तत्कालीन मन्त्री खड्काको निवासमा पुगेर मुचुल्कासहित जलेका सामग्री उठाएको थियो।

“देउवा, दाहाल र खड्काको घरमा भेटिएका नोट र खरानीको परीक्षण सम्पन्न भइसकेको छ,” विभाग स्रोतले बतायो, “रिपोर्टको आधारमा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनाललाई बिफ्रिङ पनि भएको छ।”

बुढानीलकण्ठस्थित देउवाको घरमा डलर र हजार/पाँच सयका नोटका जलेका टुक्रा भेटिएको दाबी विभागले गरेको छ। केहीले घरभित्र ‘पैसा राख्ने सुरुङ’ भेटिएको दाबी गरे पनि यसको पुष्टि भएको छैन। देउवाका स्वकीय सचिव भानु देउवाले विज्ञप्ति जारी गर्दै सुरुङ नरहेको स्पष्ट पारेका थिए।

प्रचण्ड निवासमा प्रयोग हुने सेफ फोडिएको दृश्यसहितका भिडियोहरू सामाजिक सञ्जालमा फैलिएका थिए। मुचुल्का उठाउने क्रममा डढेका नोटहरू भेटिएको विभागको टीमले जनाएको छ।
ओलीको घरमा भने पुस्तकबाहेक उल्लेख्य वस्तु जलेको नदेखिएको विभाग अधिकारीहरू बताउँछन्।

फरेन्सिक प्रतिवेदन प्राप्त भएपछि विभागले देउवा, उनकी पत्नी आरजु देउवा, प्रचण्ड र खड्कामाथि सम्पत्ति शुद्धीकरण (मनी–लन्डरिङ) सम्बन्धी अनुसन्धानलाई औपचारिक रूपमा अघि बढाउन तयारी थालेको छ।

असोज ५ गते विभागको टोलीले पुनः देउवा र खड्काको घर अवलोकन गर्दै दस्तावेज, क्षति विवरण र जलेका सामग्रीको मुचुल्का उठाइसकेको थियो। सामाजिक सञ्जालमा भाइरल भएका भिडियो तथा फोटोहरू पनि परीक्षणका लागि पठाइएका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले असोज ९ गते राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका क्रममा व्यक्तिगत घरहरूमा आगजनी हुँदा अस्वाभाविक रूपमा देखिएका नगद रकम सम्बन्धी छानबिन अघि बढेको उल्लेख गरेकी थिइन्।