Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

दीपक अधिकारीको अध्यक्षतामा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको गण्डकी प्रदेश कमिटि गठन

दीपक अधिकारीको अध्यक्षतामा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको गण्डकी प्रदेश कमिटि गठन

पोखरा । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले गण्डकी प्रदेशमा आफ्नो संगठन विस्तार गर्दै १७ सदस्यीय तदर्थ समिति गठन गरेको छ। सोमबार पोखरास्थित बर पिपल रिसोर्टमा आयोजित कार्यक्रममा संस्थाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज कविराज ढकालको प्रमुख आतिथ्यतामा समिति गठन गरिएको हो। गठित तदर्थ समितिको अध्यक्षमा दीपक अधिकारी चयन भएका छन्।

 

समितिको वरिष्ठ उपाध्यक्षमा अनुज अधिकारी, उपाध्यक्षमा सीता बराल, सचिवमा सुरेश सुनार, कोषाध्यक्षमा सुरज आचार्य, सहसचिवमा सुरज अधिकारी तथा सहकोषाध्यक्षमा रिमा शाही ठकुरी रहेका छन्। यसैगरी प्रचारप्रसार विभाग प्रमुखमा दीप काफ्ले, महिला विभाग प्रमुखमा रेखा पौडेल र प्रवक्तामा गीता तिवारी मनोनित भएका छन्। तदर्थ समिति सदस्यहरूमा बालकाशी गुरुङ, प्रीति गिरी, सुशील श्रेष्ठ, सबिन रेग्मी, आदित्य रसाइली, श्यामप्रसाद काफ्ले र सुबास अम्गाई रहेका छन्। समिति गठनसँगै सोही कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको थियो। माया गुरुङको अध्यक्षतामा रहेको प्रतिष्ठानको टोलीलाई सम्मान गरिएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले कलाकार र पत्रकार नङ र मासु जस्तै एक–अर्काका परिपूरक भएको उल्लेख गर्दै आगामी दिनमा सहकार्य र समन्वयका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।

 

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव घनश्याम रिजालले लोक सञ्चारकर्मीहरूको सहयोगकै कारण लोक तथा दोहोरी गीत क्षेत्रमा देखिएका विकृति हटाउन सफलता मिलेको बताए। सो अवसरमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज कविराज ढकालले संस्थाको स्थापना वि.सं. २०६५ मा भएको जानकारी दिँदै केन्द्रिय समितिको निर्णयअनुसार प्रदेशबाट संगठन विस्तार गर्दै जिल्लासम्म पुग्ने योजना रहेको बताए। गण्डकी प्रदेश सांस्कृतिक विविधता र लोक कला संस्कृतिको उर्वर भूमि भएकाले यहाँ शाखा विस्तारलाई प्राथमिकतामा राखिएको उनको भनाइ थियो।

 

उनले संस्थाले पत्रकार हकहित, संगठन विस्तार, विकृति–विसंगति विरुद्ध खबरदारी तथा मौलिक गीत–संगीत संरक्षणमा खेलेको भूमिकाबारे समेत प्रकाश पारे। कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल गण्डकीका सहइन्चार्ज सञ्जय पोखरेल, नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष राजाराम पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। दीपक अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य गौरव त्रिपाठीले राखेका थिए भने सञ्चालन सचिव सुरेश सुनारले गरेका थिए। नवनिर्वाचित तदर्थ समितिलाई राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका केन्द्रीय अध्यक्ष चन्द्रमणि गौतमले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।