काठमाडौँ । अमेरिकामा हालै भएको गोलीकाण्डपछि डाइभर्सिटी भिसा (डिभी) लोटरी कार्यक्रम अस्थायी रूपमा स्थगन गर्ने निर्णय गरिएको छ। अमेरिकी गृहमन्त्री कृष्टी नोयमले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार उक्त कार्यक्रम रोक्ने तयारी भएको बताएकी छन्।
ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा संलग्न व्यक्ति आठ वर्षअघि डिभी कार्यक्रममार्फत अमेरिका प्रवेश गरेको खुलेपछि यो निर्णय लिइएको हो। गृहमन्त्री नोयमले सामाजिक सञ्जालमार्फत ‘यस्ता अपराधीलाई देशभित्र पस्न दिनु हुँदैन थियो’ भन्दै निर्णयको जानकारी दिएकी छन्।
घटनापछि अमेरिकाले आप्रवासन नीतिमा थप कडाइ गर्दै सीमा निगरानी, प्रवेश प्रक्रिया र ग्रीन कार्डको पुनरवलोकनसमेत अघि बढाएको छ।