काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनलाई सहज बनाउने संकेत दिँदै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको ‘स्थान हद’मा लचकता अपनाइने बताएका छन्।
आज भक्तपुरको गुन्डुस्थित निवासमा ओलीसँग भएको भेटपछि सञ्चारकर्मीको जिज्ञासामा मन्त्री खरेलले निर्वाचनका क्रममा देखिएका केही अवरोध र चुनौती हटाइने स्पष्ट पारे। उनले सरकारले निर्वाचनको लक्ष्यमा पुग्न आवश्यक वातावरण बनाउँदै अघि बढ्ने बताए।
जेनजी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएपछि तत्कालीन प्रधानमन्त्री रहेका ओलीलाई विदेश जान रोक लगाइएसँगै काठमाडौँ उपत्यकाबाहिर जान पनि सरकारको अनुमति लिनुपर्ने व्यवस्था गरिएको थियो। यही ‘स्थान हद’प्रति आपत्ति जनाउँदै ओलीले यस्तो अवस्थामा कसरी चुनाव लड्ने भन्ने प्रश्न उठाउँदै आएका छन्।
यसैबीच, जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले ओलीको बयान चाँडै लिने तयारी गरिरहेको छ।
सञ्चारमन्त्री खरेलले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि उनीहरूकै निवासमा भेटवार्ता गरेका छन्। शनिबार प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष नेताहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेकाले त्यसको निम्तो दिन खरेल घरघरमा पुगेका हुन्।