Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सामाजिक सञ्जालमा ‘नो ओली, वन्ली बालेन’ ट्रेन्ड चलेको चर्चा

सामाजिक सञ्जालमा ‘नो ओली, वन्ली बालेन’ ट्रेन्ड चलेको चर्चा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो पोस्टमा “नो केपी ओली, ओन्लि बालेन” लेखिएका कमेन्ट प्रमुख रूपमा देखिएका छन्। एउटा वा दुईवटा मात्र नभई, उनका पोस्टमा गरिएका ४० हजार कमेन्टमध्ये अधिकांशमा यही कमेन्टहरू देखा परेका छन्। यसरी भन्नुपर्दा, ओलीको पोष्टमा रवि र बालेनको नामले भरिएको ट्रेन्ड नै चलेको छ।

बिहिबार बिहान अध्यक्ष ओलीले माघे सङ्क्रान्तिको अवसरमा आफ्नो तस्बिरसहितको शुभकामना कार्ड पोस्ट गरेका थिए। तर, उक्त पोस्टको कमेन्ट बक्समा शुभकामना आदानप्रदानभन्दा बढी ‘नो ओली, वन्ली बालेन’ लेखिएका प्रतिक्रियाहरू भरिएका छन्। सयौं सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले एउटै किसिमको ह्यासट्याग र स्लोगन प्रयोग गर्दै ओलीको आलोचना र बालेनको समर्थन गरिरहेका छन्।

पछिल्लो समय बालेन शाह झापा-५ बाट चुनाव लड्ने चर्चा चलिरहेको छ। झापा क्षेत्र नम्बर-५ एमाले अध्यक्ष ओलीको गृहजिल्ला र सुरक्षित निर्वाचन क्षेत्र हो। बालेनका समर्थकहरूले शीर्ष नेताहरूलाई चुनौती दिन ओलीकै क्षेत्र रोजेको विषयलाई सामाजिक सञ्जालमा प्रमुख रूपमा उठाएका छन्। यता बालेन शाहले पनि आफू झापा बाटै चुनाव लड्ने पक्का गरिसकेका छन्।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘नो ओली’ अभियान नै चलाएका छन्। अहिले केवल ओलीको मात्र नभई, जोकोही नेताको पोस्टमा पनि यस्तै कमेन्ट देखिन थालेको छ। उनीहरूले पुराना पुस्ताका शीर्ष नेताहरूलाई विश्राम लिन र नयाँ पुस्तालाई अघि बढ्न दबाब दिएका छन्।

यसैगरि सामाजिक सञ्जालमा निकै सक्रिय धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङका पछिल्ला पोस्टहरूमा पनि यस्तै प्रवृत्ति देखिन थालेको छ। साम्पाङका फेसबुक स्टाटसहरूमा पनि प्रयोगकर्ताहरूले ‘नो हर्क, वन्ली बालेन’ लेख्दै कमेन्ट गर्न थालेका छन्। विगतमा बालेन र हर्कबीच सुमधुर सम्बन्ध देखिए पनि, पछिल्लो समय यी दुई स्वतन्त्र मेयरका समर्थकहरूबीच प्रतिस्पर्धा चलेको छ।

जेंजी आन्दोलनको समयमा भदौ २४ गते केपी ओलीले हेलिकप्टर चढेर भाग्न बाध्य भएका थिए। उनका बालकोटको घर जलाईयो र युवाहरूले उनका विरुद्ध नाराबाजी चलाए। त्यतिबेला जनताले ओलीलाई राजनीतिबाट सन्यास लिनुपर्ने माग गरेका थिए। बाध्य भएर प्रधानमन्त्री पदबाट राजिनामा दिएका ओली आन्दोलन साम्य भएपछि पुनः सक्रिय बने। उनी फेरि चुनाव जित्ने आशामा छन्।

तर, आम जनताले अहिले रवि र बालेनको ट्रेन्डलाई नै प्राथमिकता दिएका छन्। यसबेला जताततै रवि र बालेनको नाम चर्चामा छ र जनताले यिनै दुईमा आशा र भरोसा राखेका छन्।