Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

बालेन शाहसँगै सुदन गुरुङ रास्वपामा प्रवेश, गोरखा–१ बाट चुनावी मैदानमा होमिने

बालेन शाहसँगै सुदन गुरुङ रास्वपामा प्रवेश, गोरखा–१ बाट चुनावी मैदानमा होमिने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगै पूर्व जेन–जी अभियन्ता सुदन गुरुङ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन्। सुदन गुरुङले केही बेर अघि फेसबुकमार्फत जानकारी दिँदै लेखेका छन्,

"आज दिउँसो बालेन शाह र म औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दैछौँ। यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको हो। तपाईंहरूले माग गर्नुभएको जवाफदेहिता, दिशा र नतिजालाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको छ। जनहित पहिलो प्राथमिकता रहनेछ, युवाको विश्वास सुरक्षित रहनेछ, र परिवर्तनलाई स्थायी बनाइनेछ। यो यात्रा तपाईंहरूसँगै अघि बढ्छ।"

समाचार तयार पार्दासम्म, बालेन र सुदन एउटै गाडीमा रास्वपाको कार्यालयतर्फ गइरहेका थिए।

सुदन गुरुङले आफ्नो राजीनामा बुझाइसकेका छन्। उनी झन्डै एक दशकदेखि संगठनको अध्यक्षको रूपमा अग्रणी भूमिका निर्वाह गर्दै आएका थिए। अब उनी गोरखा–१ क्षेत्रबाट चुनावी मैदानमा होमिने घोषणा गरेका छन्, जसले उनलाई राजनीतिक प्रतिमानमा नयाँ दिशा दिने सम्भावना देखिएको छ। सुदनको यो कदमले संगठन र नेपाली राजनीतिमा ठूलो हलचल मच्चाउने निश्चित छ।

पछिल्ला केही महिनामा सुदन गुरुङ रवि लामिछाने र बालेन शाह निकट बनेका थिए। पौष १४ गते उनले रवि, बालेन र कुलमान घिसिङलाई एकैठाउँमा भेट गराएका थिए। त्यस समय भएको एकता १२ दिनमै भंग भए पनि सुदनले तीन नेतालाई एकैठाउँ ल्याउने प्रयास सफल भएको बताएका छन्। उनले भने,"हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि मिलाएरै छोड्यौं र इतिहासले सम्झनेछ। रवि, बालेन र कुलमान चुनावमा सँगै लड्नेछन्।"

रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच सहमति भइसकेको छ। तर कुलमान घिसिङसँग पदीय भागबन्डामा कुरा मिल्न नसक्दा पूर्वएकता भंग भएको थियो।

यसैबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेयर पदबाट राजीनामा नदिने मनस्थिति बनाएका छन्। ६ गते प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेपछि मेयर पद स्वतः निष्क्रिय हुने भएकाले उनले अहिले राजीनामा दिन आवश्यक नरहेको सचिवालय स्रोतले बताएका छन्।

बालेनले आजै उपप्रमुख सुनिता डंगोललाई राजीनामा बुझाउने तयारी गरेका पनि थिए। तर, नेपाली कांग्रेसको विभाजनले उत्पन्न गरेको परिस्थितिले निर्वाचन तालिकामा असर पार्न सक्ने भन्दै उनले राजीनामा नदिने रणनीति बनाएका छन्। आजै साँझ ५ बजे उनी आफ्नो चुनावी अभियानमा जनकपुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ।