Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

झापा–५ मा बालेन शाहको सक्रिय नेतृत्व, घरदैलोदेखि प्रविधिमैत्री चुनावी अभियान

झापा–५ मा बालेन शाहको सक्रिय नेतृत्व, घरदैलोदेखि प्रविधिमैत्री चुनावी अभियान

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह यतिबेला झापामा चुनावी अभियानमा निकै व्यस्त देखिएका छन्। आज बिहानैदेखि उनी झापा–५ निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष अन्तरक्रिया गरिरहेका छन्।

हिजो मंगलबार झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएपछि बालेन शाह सोही निर्वाचन क्षेत्रमा होमिएका हुन्। उनले बिहानैदेखि घरदैलो अभियान चलाउँदै समुदायका सबै वर्गका मतदातासँग भेटघाट तथा छलफललाई निरन्तरता दिएका छन्।

यसक्रममा उनले दमक–५ स्थित सम्पर्क कार्यालयमा स्थानीय मतदातासँग विभिन्न समसामयिक तथा राजनीतिक विषयमा कुराकानीसमेत गरेका छन्। उम्मेदवारी दर्ता गरेसँगै बालेन देश दौडाहामा सक्रिय बनेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्ने उद्देश्यसहित झापा–५ बाट उम्मेदवारी दिएका बालेन हाल निकै लोकप्रिय जनप्रतिनिधिका रूपमा चिनिँदै आएका छन्। आगामी निर्वाचनमा झापामा आफ्नो पकड बलियो बनाउन उनले सूक्ष्म योजना र प्रविधिको व्यापक प्रयोगसहितको रणनीति अघि सारेका छन्।

बालेनको टिमले झापामा भौतिक पूर्वाधार र जनशक्ति परिचालन गरिसकेको छ। चुनावी कमान्ड सम्हाल्नका लागि टिमले तीनवटा घर भाडामा लिएको छ। ती घरहरू फरक–फरक प्रयोजनका लागि छुट्याइएका छन्। एउटा घरमा १५ जनाको विशेष सामाजिक सञ्जाल टिम रहनेछ, जहाँबाट सामाजिक सञ्जाल र कन्टेन्टसम्बन्धी सम्पूर्ण काम सञ्चालन हुनेछ।

अर्को घरमा बालेन शाह र उनका सहयोगीहरू रहनेछन्, जहाँ राजनीतिक छलफल, जमघट र बालेनका व्यक्तिगत गतिविधिहरू सञ्चालन गरिनेछ। तेस्रो घर काठमाडौँबाट आउने–जाने ब्याकअप टिम तथा फिल्डमा खटिने पुरानो महानगर टिमका लागि छुट्याइएको छ। महानगर टिममा बालेनलाई सहयोग गरेका सदस्यहरूले यही घरमा बसेर गृहकार्य गर्ने रणनीति बनाइएको छ।

बालेन समूहले आफ्नो छुट्टै टिममार्फत चुनावी गतिविधि सञ्चालन गरिरहेको छ। स्रोतका अनुसार समूहले आन्तरिक रूपमा मत सर्वेक्षणसमेत गरिरहेको छ। यद्यपि, यसका नतिजाबारे रास्वपाका स्थानीय नेतालाई औपचारिक रूपमा जानकारी दिइएको छैन।

बालेन निकट एक नेताका अनुसार टिमले झापाको समग्र मतदाता नामावलीलाई आदिवासी, युवा, वृद्ध, महिला तथा विदेशमा रहेका मतदाता गरी विभिन्न वर्गमा विभाजन गरेर अध्ययन गरिरहेको छ। सोहीअनुसार वर्गविशेषका लागि छुट्टाछुट्टै एजेन्डा तयार गरी प्रचार गर्ने रणनीति बनाइएको छ। सम्भव भएसम्म विदेशमा रहेका मतदातालाई चुनावका समयमा नेपाल ल्याउनसमेत समूहले पहल गरिरहेको देखिन्छ।

यसैबीच, वडास्तरसम्म फैलिएको रास्वपाको ‘र्‍यापिड एक्सन टिम (र्‍याट)’ ले पनि चुनावी प्रचारमा सक्रिय भूमिका खेलिरहेको छ। विपद् व्यवस्थापनका लागि गठन गरिएको यो समूह अब चुनावी क्याम्पेनमा परिचालित हुने भएको छ।

अब यी तीनवटा घरबाट तीव्र गतिमा चुनावी प्रचार अघि बढाउने बालेन टिमको योजना रहेको छ।