Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

बालेन शाहलाई झापाबासीले ‘ज्वाइँसाब’ भन्दै सम्मान

बालेन शाहलाई झापाबासीले ‘ज्वाइँसाब’ भन्दै सम्मान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहलाई झापाबासीले ‘ज्वाइँसाब’ भन्दै विशेष सम्मान गरिरहेका छन्। बालेनकी पत्नी सबिना काफ्लेको जन्मघर मोरङको उर्लाबारी हो भने झापा–५ स्थित गौरादहमा उनको मामाघर पर्छ। यही पारिवारिक सम्बन्धका कारण यतिबेला झापामा ‘ज्वाइँलाई खाली हात कसरी पठाउने ?’ भन्ने चुनावी गफ चल्न थालेको छ।

बालेन शाहको लोकप्रियता जुन जिल्लामा पुगे पनि उस्तै देखिए पनि झापा–५ ससुराली गाउँ भएका कारण यहाँको माहोल अझ विशेष बनेको छ। झापा–५ मा आफ्नो श्रीमानलाई जिताउन पत्नी सबिना काफ्ले सक्रिय भएपछि चुनावी सरगर्मी झनै बढेको छ। यतिबेला बालेन काठमाडौंका मेयरभन्दा पनि उर्लाबारीका ‘ज्वाइँ’का रूपमा बढी चर्चामा आउन थालेका छन्।

सबिनाको माइतीघर र मामाघर दुवै झापामै पर्छन्। झापा क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने मामाघरकै कारण बालेनको अनुपस्थितिमा पनि सबिना निरन्तर घरदैलो अभियानमा सक्रिय छिन्। उर्लाबारीको स्कुलडाँडामा हुर्किएकी सबिना अहिले आफ्नो श्रीमानका लागि मत माग्दै माइतीगाउँ झरेकी छन्।

यसैक्रममा उनले हिजो तोरीबारीमा हिँडिरहेको भिडिओ फेसबुकमा पोस्ट गर्दै भावुक सन्देश लेखेकी छन्। उनले लेखेकी छन्—

‘म जन्मिएको गाउँ वरिपरि घुम्दा लाग्छ, म आफ्नो जीवनको पहिलो पृष्ठमा फर्किरहेकी छु। यी खेतहरूले मेरा पाइला चिन्छन्, यी रूखहरूले मलाई बढ्दै गरेको देखेका छन्। म लड्दा, उठ्दा, हाँस्दा, रुँदा यही माटोले मेरो पहिलो आवाज सुनेको छ। मेरो स्वर बोकेको पहिलो हावा यही हो।
समयले मलाई टाढा पुर्‍यायो, नाम र पहिचान अर्कै थपिदियो, तर यहाँ फर्कँदा म ती सबै बोझ उतारेर फेरि म बन्छु। यो गाउँमा मेरो कुनै उपाधि छैन, म यहाँ केवल कहिल्यै हराउन नसक्ने त्यही सानी केटी हुँ।’

मतदातासँग भेटघाटका क्रममा सबिना पनि बालेन शाहझैँ शान्त स्वभावकी देखिन्छिन्। उनी आफैं धेरै बोल्दिनन्, बरु जनताको कुरा ध्यान दिएर सुन्छिन्। झापाका टोल–टोलमा पुग्दा मतदाताहरूले उनलाई फूलका गुच्छासहित स्वागत गरिरहेका छन्।

सबिनासँगै हिँडिरहेका रास्वपाका नेता–कार्यकर्ताहरू मतदातासँग भन्दैछन्, “उहाँ हाम्रो प्रधानमन्त्रीका उम्मेदवार बालेनजीकी धर्मपत्नी, तपाईंहरूकै चेली।” यसपछि मतदाताहरू मुस्कुराउँदै भन्छन्, “बालेन शाह त यही उर्लाबारीका ज्वाइँसाब रहेछन्।”

झापा–५ का एक मतदाताले त सबिनालाई गोबर र भुसले बनाएको गुइँठासमेत उपहार दिएका थिए। सो तस्बिर फेसबुकमा पोस्ट गर्दै सबिनाले लेखेकी थिइन्, ‘झापा–५ घुम्दै गर्दा त्यहाँबाट पाएको अमूल्य उपहार।’

यतिबेला झापा–५ मा सबिनाको घरदैलो अभियानले नयाँ तरंग पैदा गरेको छ। मतदाताबाट फूल ग्रहण गर्दै, उनीहरूसँग फोटो खिचाउँदै गर्दा सबिनाको अनुहारमा आफ्नो श्रीमानप्रतिको विश्वास र माइतीको माटोप्रतिको भरोसा एकसाथ देखिन्छ। काठमाडौं महानगरको निर्वाचनका बेला यसरी घरदैलोमा ननिस्किएकी सबिना यसपटक भने झापा–५ मा सक्रिय रूपमा मत मागिरहेकी छन्।