काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन शाहलाई झापाबासीले “केपी ओलीलाई हराएरै देखाउनुपर्छ” भन्ने चुनौती दिएका छन्। केपी शर्मा ओलीकै निर्वाचन क्षेत्र झापा–५ बाट उम्मेदवारी दिएका बालेनलाई त्यहाँका स्थानीयले खुलेर समर्थन र हौसला दिइरहेका छन्।
झापा–५ मा घरदैलो अभियानमा रहेका बालेन शाहलाई झापाबासीले “हामी नयाँ शक्तिलाई नै भोट हाल्छौँ, पुराना दल र पार्टीहरूले केही गरेनन्, अब तपाईंमाथि नै आशा र भरोसा छ” भन्दै गुनासो व्यक्त गरेका छन्। हिजो मात्रै झापा पुगेका बालेन आज बिहानैदेखि घरदैलो अभियानमा जुटेका छन्।
पश्चिम नेपालको यात्रापछि काठमाडौँ फर्किएका बालेन सोमबार पुनः झापा पुगेका हुन्। काठमाडौँको मेयर पदबाट राजीनामा दिएपछि जनकपुरको सभामा सहभागी भएका उनी गत माघ ६ गते मनोनयनका लागि दमक पुगेका थिए। त्यसपछि इलाम, पाँचथर हुँदै ताप्लेजुङ पुगेर पाथिभरा मन्दिरको दर्शन गरेका बालेन तेह्रथुम, संखुवासभा, धनकुटा र सुनसरी हुँदै माघ १० गते बेलुका विराटनगरबाट काठमाडौँ फर्किएका थिए। अहिले उनी पुनः झापा पुगेका छन्।
यसअघि सुदूरपश्चिममा घरदैलो अभियान चलाइरहेका बेला आफूसँगै प्रचारमा हिँडेका साथी बिरामी भएपछि बालेनले चुनावी कार्यक्रम स्थगित गरी काठमाडौँ फर्किएका थिए। यसै क्रममा उनका आत्मीय मित्र तथा पत्रकार दिनेश सिटौलाको निधन भएको थियो। स्वर्गीय सिटौलाको अन्त्येष्टिपछि बालेन झापा फर्किएका हुन्।
सुदूरपश्चिम भ्रमणका क्रममा जनताको गुनासो मात्रै सुनेका बालेनले झापामा भने मतदातासँग प्रत्यक्ष संवादसमेत गरेका छन्। उनले झापा कमलगाउँपालिकाका सुकुमबासीको गुनासो सुनेर जवाफ दिएका थिए। झापाका सुकुमबासीसँग काठमाडौँमा सुकुमबासी हटाएको विषयमा पनि उनले स्पष्ट पारे।
उनले भने, “काठमाडौँको खोलाछेउ सार्वजनिक जग्गा हो। त्यो खोलाकै जग्गा हो। त्यहाँ बस्नेहरूको ज्यानको सुरक्षाका लागि हटाएका हौँ। बाढी आउँदा पानी बस्तीभन्दा माथिसम्म आउँछ। जोखिममा रहेका मानिसलाई सुरक्षित स्थानमा राखिएको हो। तर, डोजरको गलत न्यारेटिभ बनाइयो।”
साथै, बालेनले झापाका सुकुमबासीले लालपुर्जा पाउने बताएका छन्। “खोलाछेउ बाहेकका सुकुमबासीको हकमा भूमि आयोगबाट लगत संकलन गरेर स्थानीय सरकारको सिफारिसमा नेपाल सरकारले लालपुर्जा दिनुपर्छ। यो समस्या ४०–५० वर्षदेखिको हो। भूमि आयोगमा राजनीतिक दलका मानिस टीका लगाएर जाने प्रवृत्ति छ। पार्टीसँग नजिक भएकाले एउटै व्यक्तिले धेरै लालपुर्जा पाउने, तर जिन्दगीभर लालपुर्जा नपाएकाले कहिल्यै नपाउने अवस्था छ। त्यो सिस्टम सुधार्नुपर्छ,” उनले भने।
बालेनको यस प्रतिबद्धतासँगै झापाबासीमा नयाँ आशा पलाएको देखिन्छ। वर्षौंदेखि पुराना दलका आश्वासन सुनेर आजित भएका जनताले अब बालेनमाथि नै भरोसा गरेको संकेत देखिएको छ।