Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

झापा–५ मा ओलीका पक्षमा एमालेको ३० बुँदे कारण सार्वजनिक

झापा–५ मा ओलीका पक्षमा एमालेको ३० बुँदे कारण सार्वजनिक

काठमाडौँ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई मतदान गर्नैपर्ने भन्दै ३० बुँदे कारण सार्वजनिक गरेको छ। पार्टीको झापा –५ क्षेत्रीय कमिटीले प्रकाशन गरेको ‘केपी शर्मा ओलीलाई नै भोट किन?’ शीर्षकको अपिलमा राष्ट्रिय स्वाधीनताको रक्षादेखि शिक्षक दरबन्दी मिलानसम्मका विषय समेटिएका छन्।

अपिलमा देशमा देखिएको त्रासको वातावरण अन्त्य गरी शान्ति–सुरक्षाको प्रत्याभूति दिन ओलीलाई जिताउनुपर्ने उल्लेख छ। झापा–५ मा सुरु भएका अधुरा विकास आयोजना सम्पन्न गर्न, सुस्ताएको अर्थतन्त्र चलायमान बनाउन र कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न पनि ओलीको आवश्यकता रहेको दाबी गरिएको छ।

निर्माणाधीन एसियन हाइवे, मध्यपहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी सडकको काम टुंग्याउन तथा दमक–रवि–चिसापानी सडकलाई पूर्णता दिन ओलीलाई निर्वाचित गर्न आह्वान गरिएको छ। साथै नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण सम्पन्न गर्न र दमक, गौरादह तथा गौरीगञ्जलाई स्मार्ट सिटीका रूपमा विकास गर्न पनि उनको नेतृत्व आवश्यक रहेको अपिलमा उल्लेख छ।

भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान, रतुवा, मावा र कमल खोलाको तटबन्धन तथा स्थानीय तहका अस्पतालमा सेवा विस्तारका योजनासमेत अपिलमा समेटिएका छन्।

एमाले केन्द्रीय सदस्य दीपक कार्कीका अनुसार अध्यक्ष ओलीले गरेका विकास कार्यबारे मतदातालाई स्मरण गराउन अपिल जारी गरिएको हो। घरदैलो अभियानमा खटिएका कार्यकर्तालाई सहज हुने गरी प्रत्येक वडामा करिब १५ सय प्रति वितरण गरिने उनले जानकारी दिए।