काठमाडौँ । मध्यपूर्वमा तनाव चुलिँदै जाँदा इजरायलले इरान विरुद्ध ‘पूर्व–सतर्कता’ आक्रमण सुरु गरेको घोषणा गरेको छ। आज बिहान जारी विज्ञप्तिमा इजरायली रक्षामन्त्री इजरायल काट्ज ले देशभर ‘विशेष र स्थायी संकटकाल’ लागू गरिएको जानकारी दिएका छन्।
इरानी सञ्चारमाध्यमका अनुसार राजधानी तेहरानका मुख्य सहरी क्षेत्रमा तीनवटा ठूला विस्फोटका आवाज सुनिएका छन्। फार्स समाचार एजेन्सीले तेहरानको रिपब्लिक क्षेत्रमा कैयौँ मिसाइल प्रहार भएको रिपोर्ट सार्वजनिक गरेको छ। उत्तर र पूर्वी तेहरानमा समेत थप विस्फोट भएको विवरण बाहिरिएको छ।
एसोसिएटेड प्रेसका अनुसार आक्रमण सर्वोच्च नेता आयतोल्लाह अली खामेनी को कार्यालय नजिक केन्द्रित भएको जनाइएको छ।
रक्षामन्त्री काट्जले ‘राज्यविरुद्धका खतराहरू हटाउन’ पूर्वनिर्धारित कदमस्वरूप आक्रमण गरिएको बताएका छन्। यसैबीच इजरायलको विमानस्थल प्राधिकरणले सबै नागरिक उडानका लागि हवाई क्षेत्र बन्द गर्दै सर्वसाधारणलाई विमानस्थल नआउन आग्रह गरेको छ।
घटनापछि क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको छ।