काठमाडौँ । गोरखाका दुवै निर्वाचन क्षेत्रमा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले नेपाली कांग्रेस का उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रलोपाले प्रत्यक्षतर्फ कांग्रेसको चुनाव चिन्ह ‘रुख’मा समर्थन जनाउने निर्णय गरेको हो। समानुपातिकतर्फ भने आफ्नै चुनाव चिन्ह ‘आँखा’मा मतदान गर्ने निर्णय गरिएको प्रलोपाका जिल्ला अध्यक्ष नारायण खत्रीले जानकारी दिए।
दुवै दलबीच भएको समझदारीअनुसार प्रत्यक्षतर्फ कांग्रेसलाई सघाउने निष्कर्षमा प्रलोपा पुगेको उनले बताए। हालै सम्पन्न पार्टी बैठकले गोरखाका दुवै क्षेत्रमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेसँगै कांग्रेसले उक्त कदमको स्वागत गर्दै आभार व्यक्त गरेको छ।
यसअघि २०७४ सालको निर्वाचनमा डा. भट्टराईले कांग्रेससँग तालमेल गरी गोरखा क्षेत्र नम्बर २ बाट विजय हासिल गरेका थिए। यसपटक भने प्रलोपाले दुवै क्षेत्रमा दिएको आफ्ना उम्मेदवारी फिर्ता लिएको छ।