काठमाडौँ । मध्यपूर्वमा जारी तनावका बीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। पछिल्लो कारोबारमा ब्रेन्ट कच्चा तेलको मूल्य करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलर पुगेको छ भने अमेरिकी बजारमा कारोबार हुने तेलको मूल्य करिब ९ प्रतिशतले घटेर प्रति ब्यारल ८८.६० अमेरिकी डलरमा झरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
यो गिरावट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै अन्त्य हुने संकेत दिएपछि आएको बीबीसीले उल्लेख गरेको छ। ट्रम्पले मध्यपूर्वको अवस्थाबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गर्दै युद्ध लामो समय नलाग्ने बताएका थिए। यद्यपि, केही दिनपछि नै युद्ध तत्काल समाप्त नहुने सम्भावना पनि व्यक्त गरिएको थियो।
यसैबीच ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मार्फत इरानले होर्मुज स्ट्रेटमा तेल ढुवानी अवरुद्ध गरे अमेरिकाले कडा सैन्य प्रतिक्रिया दिने बताएका छन्। उनका अनुसार यदि यस्तो कदम चालियो भने अमेरिकाले अहिलेसम्म गरेको आक्रमणभन्दा २० गुणा शक्तिशाली हमला गर्न सक्नेछ।
बीबीसीका अनुसार विश्वभर ढुवानी हुने कुल तेलमध्ये करिब २० प्रतिशत यही समुद्री मार्गबाट ओसारपसार हुन्छ। इजरायल–इरानबीचको द्वन्द्वका कारण यस मार्गको आवागमन प्रभावित हुँदा विश्व बजारमा तेलको मूल्यमा उतारचढाव देखिएको छ।
ट्रम्पले आवश्यक परे इरानका महत्वपूर्ण लक्ष्यहरूलाई निशाना बनाइने चेतावनी दिँदै त्यसले इरानलाई ठूलो क्षति पुर्याउन सक्ने बताएका छन्। साथै उनले यस्तो अवस्था नआओस् भन्ने आफूले आशा र प्रार्थना गरेको पनि उल्लेख गरेका छन्।