काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा आपूर्ति प्रभावित हुँदा भारतको होटल तथा रेस्टुरेन्ट उद्योगमा पनि असर देखिन थालेको छ। प्राकृतिक ग्यासको आपूर्ति घटेपछि होटल व्यवसायीहरूले उद्योगका लागि नियमित ग्यास उपलब्ध गराउन केन्द्र सरकारसँग माग गरेका छन्।
कर्नाटक मा होटल व्यवसायीहरूले ग्यास अभावका कारण दैनिक सञ्चालन नै कठिन भएको बताएका छन्। होटल ओनर्स एसोसिएसनका निर्देशक सन्तोष माल्नाड का अनुसार सरकारले स्वास्थ्य, कृषि र शिक्षाजस्ता प्राथमिक क्षेत्रलाई ध्यान दिँदै व्यावसायिक ग्यास सिलिन्डरको आपूर्ति सीमित गरेपछि होटल उद्योग समस्यामा परेको हो। उनका अनुसार ग्यास नै होटल उद्योगको मुख्य ऊर्जा स्रोत भएकाले यसको अभावले व्यवसाय सञ्चालन गर्न कठिन भइरहेको छ।
यसैबीच, तमिलनाडु ट्रेडर्स युनियन फेडेरेसन ले पनि राज्यभर होटल तथा साना खाद्य व्यवसायमा एलपीजी अभाव देखिएको जनाएको छ। संघका नेता विक्रमराजा राजा का अनुसार विशेष गरी साना होटल र साना व्यापारीहरू यस संकटबाट सबैभन्दा बढी प्रभावित हुने सम्भावना छ।
ग्यास आपूर्ति सीमित भएपछि चेन्नई लगायत तमिलनाडु का विभिन्न स्थानमा केही होटलहरूले मेनुका परिकार घटाएर उपलब्ध ग्यासका आधारमा मात्रै सेवा सञ्चालन गर्न थालेका छन्। यद्यपि घरेलु उपभोक्ताका लागि एलपीजी आपूर्ति भने प्रभावित नभएको बताइएको छ।
एलपीजी एसोसिएसन का राष्ट्रिय उपाध्यक्ष आरके गुप्ता का अनुसार घरेलु एलपीजीमा अभाव छैन, तर व्यावसायिक सिलिन्डरको वितरण अस्थायी रूपमा रोकिने अवस्था आएको छ। अस्पताल र शैक्षिक संस्थालाई भने अपवादका रूपमा आपूर्ति जारी राखिएको छ।
यसैबीच भारत सरकारले प्राकृतिक ग्यास आपूर्ति व्यवस्थापनका लागि नयाँ नियम लागू गर्ने घोषणा गरेको छ। मध्यपूर्व मा जारी द्वन्द्वका कारण हर्मुज जलमार्ग हुँदै हुने तरल प्राकृतिक ग्यास ढुवानी प्रभावित भएपछि सरकारले प्राथमिकता क्षेत्रलाई केन्द्रमा राखेर ग्यास वितरण र आपूर्ति व्यवस्थापन गर्ने निर्णय गरेको हो।
विश्लेषकहरूका अनुसार यदि मध्यपूर्वको द्वन्द्व लामो समयसम्म जारी रह्यो भने ऊर्जा आपूर्तिमा थप दबाब पर्न सक्नेछ, जसको प्रभाव दक्षिण एसियाली अर्थतन्त्रमा समेत देखिन सक्ने सम्भावना रहेको छ।