काठमाडौँ । नेपाल वायु सेवा निगमले दुबईको विमानस्थलमा रोकिएका नेपाली यात्रुको उद्धार गर्न आज राति विशेष उडान सञ्चालन गर्ने भएको छ।
निगमले जारी गरेको उडान सूचनाअनुसार आज राति ११ः१५ बजे वाइडबडी विमानमार्फत काठमाडौंबाट दुबई उडान हुनेछ। सोही विमानले दुबईमा रोकिएका यात्रुलाई स्वदेश फर्काउने व्यवस्था गरिएको छ।
दुबईबाट काठमाडौंका लागि उड्ने उडान बिहीबार बिहान ४ः१० बजे काठमाडौं आइपुग्ने तालिका रहेको जनाइएको छ।
निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठका अनुसार अमेरिका–इरान युद्ध सुरु भएपछि रोकिएका यात्रुको उद्धारका लागि १२ दिनपछि पहिलोपटक दुबईमा विशेष उडान गर्न लागिएको हो।
उनका अनुसार ‘पहिलो आउनेलाई पहिलो सेवा’को आधारमा यात्रुलाई प्राथमिकता दिइनेछ। आजको उडानमार्फत करिब २७० देखि २८० जना यात्रु दुबई पुग्ने जानकारी दिइएको छ।
विशेषगरी दुबईमा उद्धारको पर्खाइमा रहेका यात्रुलाई स्वदेश फर्काउने उद्देश्यले यो उडान व्यवस्था गरिएको निगमले जनाएको छ।
निगमका अनुसार काठमाडौं–दुबई उडान आज राति ११ः१५ बजे र दुबई–काठमाडौं उडान बिहीबार बिहान ४ः१० बजे हुनेछ। गत फेब्रुअरी २८ देखि मार्च ९ सम्म टिकट लिई यात्रा गर्न नसकेका यात्रुले मात्रै यो उडान प्रयोग गर्न पाउनेछन्। साथै यात्रुहरूले टिकट पुनः प्रमाणित गराउन पनि निगमले अनुरोध गरेको छ।