Shares
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरु मार्ग पूर्ण रूपमा नखोले इरानका ऊर्जा उत्पादन केन्द्रहरू ध्वस्त पार्ने चेतावनी दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत ४८ घण्टाभित्र उक्त जलमार्ग बिना कुनै अवरोध खुला नगरे अमेरिका कडा सैन्य कारबाहीमा उत्रिने बताएका हुन् ।
‘यदि इरानले अहिलेको समयदेखि ४८ घण्टाभित्र कुनै धम्की बिना होर्मुज जलडमरु मार्ग पूर्ण रूपमा नखोले, संयुक्त राज्य अमेरिकाले उनीहरूका विभिन्न विद्युत् उत्पादन केन्द्रहरूमा आक्रमण गरी ध्वस्त पार्नेछ, सबैभन्दा ठूलो केन्द्रबाट आक्रमण शुरू गर्नेछ’, ट्रम्पले लेखेका छन् । ट्रम्पको यो चेतावनी उनले इरान युद्ध ‘कम गर्दै लैजाने’ संकेत दिएको भोलिपल्टै आएको हो ।
यो चेतावनी युद्ध थप खतरनाक चरणमा प्रवेश गरिरहेको बेला आएको हो । इजरायली अधिकारीहरूका अनुसार इरानले पहिलोपटक लामो दूरीका मिसाइल प्रहार गरेको छ, जसले मध्यपूर्वभन्दा बाहिरसम्म आक्रमणको जोखिम बढाएको छ । यसैबीच, इरानको आक्रमणमा इजरायलको परमाणु केन्द्र नजिकै दर्जनौं मानिस घाइते भएका छन् ।
इरानले हिन्द महासागरस्थित अमेरिकी–बेलायती सैन्य अड्डा डिएगो गार्सियातर्फ ४ हजार किलोमिटर दूरीसम्म पुग्ने दुईवटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको इजरायली सैन्य प्रमुख एयाल जामिरले बताएका छन् ।
फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले आक्रमण शुरू गरेयता इरानले पहिलोपटक यस्ता लामो दूरीका मिसाइल प्रयोग गरेको इजरायली सेनाले जनाएको छ ।
जामिरका अनुसार यी मिसाइलहरू इजरायललाई मात्र लक्षित नभई युरोपका राजधानीहरू—बर्लिन, पेरिस र रोम—समेत प्रत्यक्ष जोखिमको दायरामा पर्न सक्ने छन्।
बेलायतको रक्षा मन्त्रालयका एक स्रोतका अनुसार उक्त आक्रमण बेलायत सरकारले अमेरिकी सेनालाई आफ्ना सैन्य अड्डा प्रयोग गर्न अनुमति दिनुअघि नै भएको थियो ।
अमेरिका र इजरायलले आक्रमण शुरू गरेयता इरानमा २ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । यस्तै, इजरायलमा पनि इरानी आक्रमणबाट १५ जनाको ज्यान गएको छ ।
शनिबार राति इरानी मिसाइलहरूले दक्षिणी इजरायलका डिमोना र अराद शहरमा प्रहार गर्दा बालबालिकासहित दर्जनौं मानिस घाइते भएका छन् । इरानको रिभोल्युसनरी गार्ड्सले दक्षिणी इजरायलका सैन्य प्रतिष्ठान र सुरक्षा केन्द्रहरूलाई लक्षित गरिएको जनाएको रोयटर्सले लेखेको छ ।
इजरायली सेना प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले देशको वायु प्रतिरक्षा प्रणाली सक्रिय रहे पनि उक्त आक्रमण रोक्न नसकेको बताएका छन् । ‘हामी घटनाको अनुसन्धान गर्नेछौं र यसबाट सिक्नेछौं’, उनले भने ।
इजरायलको गोप्य परमाणु रिएक्टर डिमोनाबाट करिब १३ किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ । यी दुवै शहर देशका ठूला सैन्य अड्डामध्ये एक नेभाटिम एयरबेस नजिक रहेका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरादमा भएको आक्रमणपछि वक्तव्य जारी गरेका छन् । ‘हाम्रो भविष्यका लागि लडाइँको अत्यन्त कठिन साँझ हो’, उनले भनेका छन्, ‘हामी आफ्ना शत्रुहरूमाथि सबै मोर्चाबाट आक्रमण जारी राख्न दृढ छौं ।’
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209