Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाल–श्रीलंका डिजिटल भुक्तानीमा जोडिए, अब क्यूआर स्क्यान गरेरै भुक्तानी गर्न सकिने

नेपाल–श्रीलंका डिजिटल भुक्तानीमा जोडिए, अब क्यूआर स्क्यान गरेरै भुक्तानी गर्न सकिने

काठमाडौँ । नेपाल र श्रीलंकाबीच पहिलोपटक क्रस–बोर्डर क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ। श्रीलंकाको लंकापे र नेपालको नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीचको सहकार्यमा सुरु गरिएको यो सेवाले नेपाली यात्रुहरुलाई श्रीलंकामा डिजिटल माध्यमबाट सहज भुक्तानी गर्ने सुविधा दिएको हो।

अब नेपाली प्रयोगकर्ताले कनेक्टआईपीएस तथा सहभागी मोबाइल बैंकिङ एपमार्फत श्रीलंकाभर रहेका ४ लाखभन्दा बढी लंकाक्यूआर मर्चेन्टमा क्यूआर स्क्यान गरी रियल टाइम भुक्तानी गर्न सक्नेछन्।

कोलम्बोमा आयोजित विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंक, सेन्ट्रल बैंक अफ श्रीलंका, एनसीएचएल, लंकापे तथा दुवै देशका बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सेवाको औपचारिक घोषणा गरिएको हो।

प्रारम्भिक चरणमा लक्ष्मी सनराइज बैंकले सेवा सुरु गरेको छ। बैंकद्वारा जारी डलर कार्ड वा इन्स्ट्रुमेन्टलाई कनेक्टआईपीएससँग लिंक गरेर श्रीलंकामा क्यूआर भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। आगामी दिनमा अन्य मोबाइल बैंकिङ एपमा पनि यो सुविधा विस्तार गरिने बताइएको छ।

यो पहललाई दक्षिण एशियाली डिजिटल भुक्तानी प्रणालीबीचको महत्वपूर्ण क्षेत्रीय अन्तरआबद्धताको रूपमा हेरिएको छ। यसले पर्यटन, व्यापार र नगदरहित कारोबारलाई थप सुरक्षित, छिटो र सहज बनाउने अपेक्षा गरिएको छ।