काठमाडौँ । आगामी जेठ ८ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र काजी अहिले चर्चामा छ । ट्रेलर र गीत सार्वजनिक भएपछि दर्शकमाझ यसको उत्साह बढ्दो छ । अभिनेता विपिन कार्कीले चलचित्रलाई आफूले यसअघि नगरेको फरक शैलीको प्रेमकथा भएको बताएका छन् ।
उनका अनुसार सुरुमा ‘काजी’को कथा फरक थियो । पछि निर्माण टोलीले नयाँ कथासहित पुनः प्रस्ताव गरेपछि आफू परियोजनामा जोडिएको उनले बताए । विपिनले अहिलेको कथा निकै फरक स्वादको र मनपर्ने रहेको उल्लेख गरे ।
चलचित्रले प्रेमलाई केवल संवाद वा भावनात्मक अभिव्यक्तिमा सीमित नगरी दैनिक जीवनका साना व्यवहार र सम्बन्धभित्र खोजेको उनको भनाइ छ । श्रीमान–श्रीमतीबीचको समझदारी, त्याग र एकअर्काको खुशीमा आफ्नो खुशी खोज्ने भावनालाई फिल्मले सुन्दर ढंगले प्रस्तुत गरेको उनले बताए ।
विपिनले आफू वैवाहिक जीवन बाँचिरहेको व्यक्ति भएकाले ‘काजी’को पात्रसँग सहज रूपमा जोडिन सकेको अनुभव सुनाए । २०५० सालअघिको परिवेशमा आधारित फिल्ममा उनले प्रेममा डुबेको ‘काजी खानदान’को युवकको भूमिका निभाएका छन् ।
चलचित्रमा केकी अधिकारी, गरिमा शर्मा, प्रकाश घिमिरे लगायत कलाकारको अभिनय रहेको छ । फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् ।
विपिनका अनुसार ‘वारि बर पारि पिपलु’ गीत टिकटकमा भाइरल भइरहेकाले पनि फिल्मले राम्रो माहोल बनाइरहेको छ । उनले ‘काजी’ अहिलेका नेपाली फिल्मभन्दा फरक स्वादको चलचित्र हुने दाबी गरेका छन् ।