Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

बाँदर नियन्त्रणको प्रविधि बनाउन रकेटभन्दा गाह्रो : महावीर पुन

बाँदर नियन्त्रणको प्रविधि बनाउन रकेटभन्दा गाह्रो : महावीर पुन

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले नेपालमा बाँदर नियन्त्रणको प्रभावकारी प्रविधि विकास गर्नु रकेट बनाउनुभन्दा कठिन भएको बताएका छन्।

शिक्षा समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाँदर अत्यन्तै चलाख प्राणी भएकाले दीर्घकालीन समाधानका लागि ठूलो अनुसन्धान आवश्यक पर्ने बताए। उनका अनुसार आविष्कार केन्द्रले बाँदर धपाउने मेसिन निर्माण गरी विभिन्न जिल्लामा परीक्षण गरे पनि केही समयपछि बाँदरले त्यसलाई बेवास्ता गर्न थालेका छन्।

पुनले बाँदर नियन्त्रणका लागि पालिकाहरूलाई वार्षिक एक लाख रुपैयाँ सहयोग गर्न आग्रह गर्दा पनि सहयोग नपाएको गुनासो गरे। उनले पर्याप्त बजेट भए प्रभावकारी अनुसन्धान गर्न सकिने बताए।

उनले सार्वजनिक यातायातको कालो नम्बर प्लेट वितरणमा भ्रष्टाचार र सिन्डिकेट रहेको आरोपसमेत लगाए। एउटा ट्याक्सीको नम्बर प्लेट लिन १५ लाख रुपैयाँसम्म घुस दिनुपर्ने अवस्था रहेको भन्दै यसबारे गम्भीर छानबिन हुनुपर्ने माग गरे।

महावीर पुनले आफूले आत्मकथा बिक्रीबाट आएको रकमले वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गरिरहेको उल्लेख गर्दै आफू समाज सुधार र प्रविधि विकासमा केन्द्रित रहेको स्पष्ट पारे।