काठमाडौँ । महावीर पुनले आफूले पछिल्लो २६ वर्षदेखि कुनै पनि चलचित्र नहेरेको बताएका छन्। प्रतिनिधिसभामा चलचित्र विधेयकमाथिको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सन् २००० मा पोखरामा ‘कारभान’ फिल्म हेरेयता हलमा नगएको खुलासा गरे।
चलचित्र क्षेत्रलाई केवल मनोरञ्जनमा सीमित गर्न नहुने भन्दै पुनले फिल्म शिक्षा, सामाजिक चेतना र परिवर्तनको प्रभावकारी माध्यम हुनुपर्ने धारणा राखे।
उनले आगामी बजेटमा अनुसन्धान, प्रविधि र नवप्रवर्तनलाई प्राथमिकता नदिइएको भन्दै असन्तुष्टि जनाए। कुल पुँजीगत खर्चको कम्तीमा १ प्रतिशत बजेट अनुसन्धान र प्रविधिका लागि छुट्याउनुपर्ने उनको माग छ।
पुनले नेपालमा उद्योग र उद्यम विकास नगरेसम्म रोजगारी तथा अर्थतन्त्र सुदृढ हुन नसक्ने बताए। साथै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई सबैभन्दा संवेदनशील मन्त्रालयका रूपमा विकास गर्नुपर्ने र यसको नेतृत्व प्रधानमन्त्री स्वयंले लिनुपर्ने धारणा पनि राखे।