काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको भदौ २३–२४ को आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेसले विगतमा गठन गरिएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको आफ्नो धारणा मानव अधिकार आयोगको पछिल्लो प्रतिवेदनले थप पुष्टि गरेको दाबी गरेको हो।
कांग्रेस प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा मानव अधिकार आयोगले जाँचबुझ आयोगकै अध्यक्षमाथि समेत थप अनुसन्धान आवश्यक रहेको उल्लेख गरेकाले कार्की आयोगको प्रतिवेदन निष्पक्ष नभएको संकेत मिलेको बताइएको छ। साथै आम निर्वाचनअघि प्रतिवेदन सार्वजनिक नगरिनु नियोजित भएको आशंका पनि कांग्रेसले व्यक्त गरेको छ।
कांग्रेसले आन्दोलनको प्रारम्भिक चरण संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण विरोध र सुशासनको मागसँग सम्बन्धित रहेको आयोगको निष्कर्षलाई महत्वपूर्ण भनेको छ। तर त्यसपछि आन्दोलनका नाममा हिंसा, आगजनी, लुटपाट र सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड भएको प्रतिवेदनले देखाएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा हिंसात्मक गतिविधिमा संलग्न भएको आशंकामा सांसदसहित जिम्मेवार व्यक्तिमाथि निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाही गर्नुपर्ने माग गरिएको छ। साथै शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने र निर्दोष नागरिकको ज्यान लिने जोसुकैमाथि राजनीतिक संरक्षणबिना कारबाही हुनुपर्ने कांग्रेसको धारणा छ।
कांग्रेसले सुरक्षा निकायद्वारा भएको अत्यधिक बल प्रयोगलाई पनि मानव अधिकार उल्लंघनका रूपमा आयोगले औंल्याएको उल्लेख गर्दै दोषीमाथि कानुनी दायराभित्र कारबाही गर्नुपर्ने जनाएको छ। साथै आयोगका सिफारिस कार्यान्वयन गर्न, पीडित परिवारलाई न्याय र क्षतिपूर्ति दिन तथा सुरक्षा निकायलाई मानव अधिकारमैत्री बनाउन सरकारसँग माग गरेको छ।