Shares
Shares
अरूलाई नियम पालना गर्न आग्रह गर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्ग स्वयंले ट्राफिक नियम उल्लङ्घन गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। साम्पाङ्गले आफैंले सार्वजनिक गरेको उक्त भिडियो केही मिनेटमै फेसबुकबाट हटाएका थिए। भिडियोमा उनी मोटरसाइकल चलाउँदै गर्दा भिडियो बनाइरहेको देखिएको दाबी गरिएको छ।
केही समयपछि साम्पाङ्ग आफैं दुर्घटनामा परेको भिडियो पनि सार्वजनिक भएको छ। उच्च सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिबाट यस्तो कमजोरी भएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ। सम्बन्धित निकाय भने यस विषयमा हालसम्म औपचारिक रूपमा मौन देखिएको छ।
ट्राफिक प्रहरीले भने भिडियोबारे जानकारी लिइरहेको जनाएको छ। एक प्रहरी अधिकारीका अनुसार, “भिडियो हाम्रो ध्यानमा आएको छ। ट्राफिक नियम सबैका लागि बराबर लागू हुन्छ। ठूलो वा सानो भन्ने हुँदैन। हामी तथ्य बुझेर आवश्यक प्रक्रिया अगाडि बढाउँछौं।”
यदि भिडियोमा देखिएको गतिविधि ट्राफिक नियम विपरीत भएको पुष्टि भएमा साम्पाङ्गमाथि कानुनअनुसार कारबाही हुन सक्ने बताइएको छ। अरूको आलोचना गर्न अग्रसर रहने साम्पाङ्ग आफैं आलोचनाको केन्द्रमा परेपछि भने यस विषयमा मौन रहेका छन्। उनले हालसम्म कुनै स्पष्टीकरण दिएका छैनन्।
जानीजानी गरिएको गल्तीलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भन्दै सर्वसाधारणसमेत उनीप्रति आक्रोशित देखिएका छन्। सामाजिक सञ्जालमा उनको पक्षमा भन्दा विपक्षमा प्रतिक्रिया बढी देखिन थालेको छ।
मेयर रहँदा पनि साम्पाङ्गले पटक–पटक विभिन्न नियम उल्लङ्घन गरेको आरोप लाग्दै आएको थियो। सामाजिक सञ्जालमा सक्रिय उनी प्रायः आफूलाई मन नपर्ने नेता तथा दलविरुद्ध टिप्पणी गर्दै आएका छन्। पछिल्लो समय उनका कतिपय समर्थकसमेत उनको शैलीप्रति असन्तुष्ट देखिएको चर्चा भइरहेको छ।
यसैबीच, साम्पाङ्ग नेतृत्वको पार्टीले संसद्मा विभिन्न विषयमा विरोध जनाउँदै आएको छ। प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित नभएको विषय उठाउँदै आएको उक्त पार्टीले अहिले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिप्रति माफी माग्नुपर्ने मागसमेत गरिरहेको छ। पार्टीले प्रधानमन्त्रीको राजीनामासम्मको माग उठाएको बताइएको छ।
उता, साम्पाङ्ग दुर्घटनामा परेको विषयमा पार्टीका वरिष्ठ नेता सुदन किरातीले चिन्ता व्यक्त गरेका छन्। उनले पार्टी अध्यक्षको स्वास्थ्य अवस्था सामान्य रहेको तर दुर्घटनामा परेको पुष्टि गरेका छन्। साम्पाङ्ग स्वयंले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।
हर्क साम्पाङ्ग मेयर हुँदा श्रमदान अभियानका कारण ‘श्रमपिता’ का रूपमा चर्चित बनेका थिए। श्रमदान संस्कृतिलाई प्रोत्साहन गर्ने व्यक्तिका रूपमा उनी अझै पनि धेरैका लागि प्रेरणाका स्रोत मानिन्छन्। हाल उनको पार्टीले दार्चुलामा पुल निर्माण अभियान सञ्चालन गरिरहेको छ। कठिन भिरालो भूभागमा पुल निर्माण भइरहेको भिडियोहरू समेत सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन्।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209