Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

मल अभावको चिन्ताबीच भारतले नेपाललाई ५० हजार टन मल पठाउँदै

मल अभावको चिन्ताबीच भारतले नेपाललाई ५० हजार टन मल पठाउँदै

काठमाडौँ । धान रोपाइँको मुख्य सिजन सुरु भइरहेका बेला भारतले नेपाललाई ५० हजार मेट्रिक टन रासायनिक मल उपलब्ध गराउने भएको छ। सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत पहिलो चरणमा ३० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल सहुलियत दरमा आयात गरिनेछ।

कृषि मन्त्रालयका सहसचिव तथा कृषि सामग्री कम्पनीका अध्यक्ष डा. रामकृष्ण श्रेष्ठका अनुसार नेपाल र भारतका सरकारी कम्पनीबीच आवश्यक सम्झौता भइसकेको छ। खरिद प्रक्रिया अघि बढिसकेको र भुक्तानी प्रक्रिया अन्तिम चरणमा पुगेको उनले बताए।

नेपालले कृषि सिजनलाई ध्यानमा राख्दै निर्धारित १२० दिनको आपूर्ति अवधि छोट्याउन आग्रह गरेको छ। भारतीय पक्षले पनि सकेसम्म छिटो मल उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

हाल सरकारी गोदाममा युरिया र डीएपीको पर्याप्त मौज्दात भए पनि बढ्दो मागलाई ध्यानमा राख्दै थप मल आयातको प्रक्रिया अघि बढाइएको सरकारले जनाएको छ। किसानलाई मल अभाव हुन नदिन यो आयात महत्वपूर्ण मानिएको छ।