Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

अमेरिकाको मेरिल्यान्डको सांसदका लागि नेपाली युवा चापागाईँको उम्मेदवारी

अमेरिकाको मेरिल्यान्डको सांसदका लागि नेपाली युवा चापागाईँको उम्मेदवारी

काठमाडौँ ।  मेरिल्यान्ड राज्यको हाउस अफ डेलिगेट्स चुनावको लागि भइरहेको प्राइमरीमा नेपाली मूलका उमेदवार सतिश चापागाईंले आफ्नो चुनावी तयारीलाई तीव्र बनाएका छन् । 

आगामी नोभेम्बर महिनामा हुने चुनावका लागि डेमोक्रेटिक पार्टीबाट मेरिल्यान्ड राज्यको डिस्ट्रिक्ट ७ ए को प्रतिनिधित्व गर्दै उमेदवार बन्न पार्टीको आगामी जुन २३ मा हुने पार्टीको आन्तरिक चुनावमा चापागाईं होमिएका हुन् । 

उनको यो चुनावी अभियानमा नेपाली मूलका सफल र अनुभवी राजनीतिज्ञ एवम् मेरियान्ड राज्यको सांसद ह्यारी भण्डारीले अनुमोदन (इन्डोर्स) गरिसकेका र सहयोग जारी राखेका छन् ।

नेपाली मूलका व्यक्तिहरु अमेरिकाको मूलधारको राजनीतिमा आउनु उत्साहजनक र साहसिक कदम भएको मेरिल्यान्ड राज्यको हाउस अफ डेलिगेट्को सांसद ह्यारी भण्डारीले बताएका छन् ।

डेमोक्रेटिक पार्टीमा निरन्तर आस्था राख्ने चापागाईं चारवर्ष अगाडि मेरिल्यान्ड राज्यको उक्त पार्टीको केन्द्रिय समितिमा निर्वाचित सदस्य हुन् । 

यसअघि उनी एसियन अमेरिकन प्यासिफिक आइल्यान्डर (एएपीआई) समितिमा  रहेका थिए ।  जुन २३ मा हुने चुनावबाट डेमोक्रेटिक पार्र्टीका दुइजना उम्मेदवारहरु छानिनेछन् जसले रिपब्लिकन पार्टीका उमेदवारहरुसँग हाउस अफ डेलिगेट्सको सांसद बन्न प्रतिस्पर्धा गर्नेछन् । 

यो आन्तरिक चुनावमा चापागाईंका डेमोक्रेटिक पार्टी कै समकक्षी प्रतिस्पधीहरु टम बेकर, लिडिया ब्राउन र क्लिभल्यान्ड रेनोल्ड्स जुनियर रहेका छन् । 

त्यसैगरी रिपब्लिकन पार्टीले भने नोभेम्बरको राज्यस्तरिय आम निर्वाचनका लागि रायन नारोक्की र क्याथी जेलिगालाई छानिसकेको  छ । 

यो चुनावका लागि शुरुवात (अर्ली) मतदान सुरु भइसकेको छ भने अन्तिम चुनाव जुन २३ मा हुने छ मेरील्यान्ड स्टेट बोर्ड अफ इलेक्सन्सले जनाएको छ । उमेदवार चापागाईंका अनुसार डिस्ट्रिक्ट ७ ए मा कूल ८० हजार मतदातामध्ये ३४ प्रतिशत डेमोक्रेटिक पार्टीका मानिसहरु रहेका छन् ।