काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेताको निर्देशनपछि काठमाडौं उपत्यकामा खाद्य सुरक्षा र गुणस्तर सुनिश्चित गर्न बजार अनुगमन तीव्र बनाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोबाइल ल्याबसहित तीन टोली परिचालन गरी होटल, तरकारी बजार र डेरी उद्योगमा निरीक्षण गरेको हो।
अनुगमनका क्रममा काठमाडौंको बानेश्वरस्थित एक व्यवसायिक स्टोरमा खाद्य प्रयोजनका लागि राखिएको Cosmetic Grade Rose Water फेला परेपछि विभागले उक्त सामग्री तत्काल नष्ट गरेको छ। साथै, सम्बन्धित व्यवसायीलाई आवश्यक कागजातसहित पाँच दिनभित्र विभागमा उपस्थित भई स्पष्टीकरण दिन निर्देशन दिइएको छ।
यस्तै, कालिमाटी फलफूल तथा तरकारी बजारबाट संकलन गरिएका २२ वटा ताजा फलफूल तथा तरकारीको विषादी अवशेष परीक्षण गर्दा सबै नमुना खाद्य मापदण्डअनुकूल रहेको विभागले जनाएको छ।
भक्तपुरका दुई डेरी उद्योगमा गरिएको अनुगमनमा उत्पादन प्रक्रिया, सरसफाइ र गुणस्तर व्यवस्थापन सुधार गर्न निर्देशन दिइएको छ। मन्त्री मेहेताले उपभोक्ताको स्वास्थ्यमा जोखिम सिर्जना गर्ने व्यक्ति वा संस्थामाथि कानुनअनुसार कडा कारबाही गरिने र बजार अनुगमनलाई अझ प्रभावकारी बनाइने बताएकी छन्।