काठमाडौं । राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा नेपाली कांग्रेसका सभापति गगन थापाले किसानप्रति सम्मान व्यक्त गर्दै कृषि आधुनिकीकरण, उत्पादन वृद्धि र खाद्य आत्मनिर्भरतालाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्ने बताएका छन्।
शुभकामना सन्देशमार्फत उनले नेपाल कृषि प्रधान देश भएकाले कृषि राष्ट्रको सभ्यता, संस्कृति र अर्थतन्त्रको आधार भएको उल्लेख गरेका छन्। खेतमा पसिना बगाएर खाद्य सुरक्षा सुनिश्चित गर्ने किसानको श्रम र योगदानको सम्मान गर्नुपर्ने उनको भनाइ छ।
थापाले संविधानले खाद्य सम्बन्धी हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरे पनि किसानले अझै बीउ, मल, सिँचाइ र उत्पादनको उचित मूल्य नपाउने समस्या भोगिरहेको बताएका छन्। जलवायु परिवर्तनले कृषि क्षेत्रमा थप चुनौती सिर्जना गरेको उल्लेख गर्दै उनले मौसमअनुकूल प्रविधिको प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।
‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने यस वर्षको नारालाई स्मरण गर्दै उनले आधुनिक कृषि प्रविधि, उन्नत बीउ, गुणस्तरीय मल, सिँचाइ, भण्डारण र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने बताए। साथै, कृषिलाई सम्मानित र आकर्षक पेशाका रूपमा विकास गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
थापाले राष्ट्रिय धान दिवसले किसानप्रतिको सम्मान अझ बलियो बनाउँदै खाद्य सुरक्षा र कृषि समृद्धिको दिशामा सबैलाई प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।