Jul 19 2026 | २०८३, श्रावण ३ गते

Jul 19 2026 | २०८३, श्रावण ३ गते

सभामुख अर्यालको सांसदलाई सुझाव: जनताको विश्वास कायम राख्न जिम्मेवार र अध्ययनशील बनौँ

सभामुख अर्यालको सांसदलाई सुझाव: जनताको विश्वास कायम राख्न जिम्मेवार र अध्ययनशील बनौँ

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीलाई जनताले निरन्तर नियालिरहेको भन्दै आफ्नो भूमिकाप्रति थप जिम्मेवार बन्न आग्रह गरेका छन्।

सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै उनले कानुन निर्माणमा विगतका राम्रा अभ्यासबाट सिक्दै अध्ययनशील र प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिए।

उनले प्रतिनिधिसभामा धेरै नयाँ सांसद रहेकाले संसदीय प्रक्रिया र विधिबारे स्पष्ट बुझाइ दिलाउन तथा सांसदको कार्यसम्पादन प्रभावकारी बनाउन अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताए। यसबाट संसदीय अभ्यासमा दक्षता बढ्ने विश्वास पनि उनले व्यक्त गरे।

सभामुख अर्यालले जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा रूपान्तरण हुने भएकाले त्यसअनुसार आचरण र जिम्मेवारी निर्वाह गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले सांसदलाई संसदीय प्रक्रिया र अभ्यासबारे थप जानकारी गराउने उद्देश्यले दुईदिने अभिमुखीकरण सञ्चालन गरिएको जानकारी दिए। प्रशिक्षण कार्यक्रम सिंहदरबारस्थित संसद् भवन परिसरमा आज र भोलिसम्म चल्नेछ।