काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफ्ना सेवा र तथ्याङ्कलाई थप पारदर्शी र सहज बनाउन नयाँ ड्यासबोर्ड सञ्चालनमा ल्याएको छ। मन्त्री गौरिकुमारी यादवको पहलमा सुरु गरिएको यस प्रणालीमार्फत उद्योग, कम्पनी तथा फर्म दर्तासम्बन्धी विवरण अब रियल टाइममै अद्यावधिक हुनेछ।
यसअघि नेपालमा दर्ता भएका उद्योग र कम्पनीहरूको विवरण सर्वसाधारणले सहज रूपमा प्राप्त गर्न कठिन थियो। ड्यासबोर्ड सञ्चालनपछि आवश्यक जानकारी सजिलै हेर्न सकिने भएको मन्त्रालयले जनाएको छ। आगामी आर्थिक वर्षदेखि प्रदेशस्तरका दर्ता विवरणसमेत यसमा समावेश गर्ने योजना छ।
हाल ड्यासबोर्डमा उद्योग विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा कम्पनी रजिस्ट्रारको कार्यालयका सूचना प्रणालीहरू एकीकृत गरिएका छन्। अन्य निकायहरूको विवरण पनि डाइनामिक फर्ममार्फत समेट्ने व्यवस्था गरिएको छ। एपीआई (API) मार्फत प्रणालीहरू जोडिएकाले सबै तथ्याङ्क रियल टाइममै उपलब्ध हुनेछन्।