Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

देशका धेरै स्थानमा पानी पर्दा किन कोसी र मधेसको तराईमा वर्षा भइरहेको छैन ?

देशका धेरै स्थानमा पानी पर्दा किन कोसी र मधेसको तराईमा वर्षा भइरहेको छैन ?

काठमाडौं । कोसी र मधेस प्रदेशका तराई क्षेत्रका केही स्थानमा छिटपुट वर्षा भए पनि धेरै स्थानमा पानी परेको छैन । 

मधेस प्रदेशको तराई क्षेत्रमा झनै थोरै स्थानमा मात्रै वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

“मधेस र कोसी प्रदेशका तराई क्षेत्रका एकदुई स्थानमा वर्षा भए पनि यी क्षेत्रका धेरै स्थानमा पानी परेको छैन,” मौसमविद् रोजन लामिछाने भन्छन्, “दुई दिनअघिसम्म केही वर्षा भए पनि त्यसयता वर्षा हुन सकेको छैन ।” 

अझै कही दिन मधेस र कोसी प्रदेशका तराई क्षेत्रमा वर्षाको सम्भावना न्यून रहेको उनी प्रस्ट पार्छन् । “केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भाना रहे पनि मधेस र कोसी प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा अझै केही दिन वर्षाको सम्भावना न्यून छ,” उनले भने । 

तर, दुई दिन वर्षा नहुँदैमा सुक्खा भन्ने नमिल्ने उनको तर्क छ । 

मौसमविद् विनोद पोखरेल मनसुन आयो भन्दैमा पानी पर्छ नै भन्ने नहुने बताउँछन् । पानी पर्ने अथवा नपर्ने मनसुनको न्यूनचापीय रेखामा भर पर्ने उनको भनाइ छ । 

“पानी पर्ने अथवा नपर्ने मनसुनको न्यूनचापीय रेखामा भर पर्छ । अहिले मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालको नजिक र पूर्वी नेपालबाट टाढा रहेको छ,” उनी फेसबुकमा लेख्छन्, “त्यसैले पश्चिममा राम्रो वर्षा हुँदा पूर्वी तराई सुक्खा छ ।” 

यो क्रम यो हप्ताभरी रहने उनले प्रस्ट पारेका छन् । “पूर्वी तराईमा कम वर्षा र पश्चिममा धेरै हुने सम्भावना छ,” उनले लेखेका छन् । न्यूनचापीय रेखा पश्चिम नेपालको नजिक रहेकाले पश्चिममा वर्षा भइरहेको हो । उक्त रेखा पूर्वी नेपालबाट टाढा रहेकाले पूर्वी नेपालका भूभागमा कम वर्षा भइरहेको हो ।