काठमाडौँ । सम्माननीय सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत महामहिम फाहद मोहम्मद ए. मनिखले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
भेटमा सभामुख अर्यालले नेपाल–साउदी अरेबिया सम्बन्धलाई संसदीय तथा संस्थागत रूपमा अझ सुदृढ बनाउन नेपाल सङ्घीय संसद इच्छुक रहेको बताउँदै हालै नेपाल–साउदी संसदीय मैत्री समूह गठन गरिएको जानकारी दिनुभयो। उक्त समूहले दुवै देशका संसदबीच सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो।
उहाँले श्रम आप्रवास, लगानी, पूर्वाधार, ऊर्जा, पर्यटन तथा कृषि क्षेत्रमा सहकार्य विस्तारको सम्भावना रहेको उल्लेख गर्दै साउदी अरेबिया नेपाली श्रमिकका लागि प्रमुख गन्तव्य मुलुक भएको बताउनुभयो। साथै सन् २०२७ मा कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा हुने अवसरमा स्वर्ण महोत्सव मनाउने तयारीबारे पनि चर्चा गर्नुभयो।
सो अवसरमा राजदूत मनिखले नेपालसँगको सम्बन्धलाई साउदी अरेबियाले उच्च प्राथमिकतामा राखेको बताउँदै श्रम, व्यापार, लगानी तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्न इच्छुक रहेको धारणा व्यक्त गर्नुभयो।
नेपालले सन् १९७८ मा साउदी अरेबियामा र साउदी अरेबियाले सन् २०१२ मा नेपालमा दूतावास स्थापना गरेका हुन्। हाल साउदी अरेबियामा करिब ३ लाख ८४ हजार नेपाली कार्यरत रहेका छन्।