काठमाडौँ । मानसिक अस्पताल, लगनखेलले बिरामीका लागि अनलाइनमार्फत ओपीडी टिकट सेवा सुरु गरेको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत बुँदा नं. ३२ को कार्यान्वयनस्वरूप यो सेवा सञ्चालनमा ल्याइएको हो।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार गरिएको अनुगमनपछि अस्पतालले अनलाइन टिकट प्रणाली लागू गरेको हो। यस प्रणालीमार्फत बिरामीले अस्पतालको वेबसाइटबाटै ओपीडी टिकट लिन र डिजिटल माध्यमबाट शुल्क भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ।
अस्पतालका अनुसार यस सेवाले टिकटका लागि लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हट्ने र सेवा प्रवाह थप सहज, छरितो तथा पारदर्शी हुने अपेक्षा गरिएको छ।
ओपीडी सेवा सार्वजनिक बिदाबाहेक बिहान ९ देखि १ बजेसम्म र दिउँसो २ देखि ५ बजेसम्म सञ्चालन हुनेछ। अनलाइन टिकट लिने बिरामीलाई बिहान ९:३० देखि १२:३० बजेसम्म र दिउँसो २:३० देखि ४:३० बजेसम्म अस्पतालमा उपस्थित हुन अनुरोध गरिएको छ।