काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले वर्तमान सरकार गठनपछि परीक्षा प्रणाली, विश्वविद्यालय सुधार, डिजिटल सेवा विस्तार र सेवा प्रवाहलाई प्रभावकारी बनाउने क्षेत्रमा उल्लेखनीय प्रगति भएको जनाएको छ।
मन्त्रालयका अनुसार अब माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनाभित्र, कक्षा १२ को ४० दिनभित्र र विश्वविद्यालयस्तरीय परीक्षाको नतिजा ६५ दिनभित्र सार्वजनिक गर्ने व्यवस्था लागू गरिएको छ। यो सरकारको शासकीय सुधारसम्बन्धी सयबुँदे कार्ययोजनाअन्तर्गत कार्यान्वयनमा आएको हो।
वैदेशिक अध्ययन अनुमति (एनओसी) प्रणालीलाई थप प्रभावकारी बनाउन त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको तथ्याङ्क प्रणालीसँग आबद्ध गरिएको छ भने राष्ट्रिय परिचयपत्र प्रणालीसँग पनि अन्तरआबद्धताको तयारी पूरा भएको मन्त्रालयले जनाएको छ। पछिल्ला तीन महिनामा ४० हजारभन्दा बढीलाई एनओसी र १२ हजारभन्दा बढीको शैक्षिक प्रमाणपत्र प्रमाणीकरण गरिएको छ।
मन्त्रालयले विश्वविद्यालयमा दलगत हस्तक्षेप अन्त्य गर्न ‘स्टुडेन्ट काउन्सिल’ र ‘भ्वाइस अफ स्टुडेन्ट’ प्रणाली लागू गर्ने तयारी गरेको छ। साथै, नौ विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कार्यान्वयनमा आएको दाबी गरिएको छ।
त्रिभुवन विश्वविद्यालयमा अध्ययन बिदा दुरुपयोग गर्ने करिब ४०० प्राध्यापकबाट उठाउनुपर्ने करिब दुई अर्ब रुपैयाँमध्ये हालसम्म ५० करोड रुपैयाँ राजस्व फिर्ता भएको मन्त्रालयले जनाएको छ।
विद्यालय शिक्षामा कक्षा ५ सम्म परम्परागत आन्तरिक परीक्षा हटाई वैकल्पिक मूल्याङ्कन प्रणाली लागू गरिएको छ भने जन्मदर्ता नभएका बालबालिकालाई पनि विद्यालय भर्ना गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ।
मन्त्रालयले डिजिटल हस्ताक्षर, इ–पेन्सन कार्ड, गुनासो व्यवस्थापन प्रणाली, गुणस्तर मापदण्ड तथा विश्वविद्यालयमा नयाँ पदाधिकारी छनोट प्रक्रिया पनि अन्तिम चरणमा पुगेको जनाएको छ।