काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले शुक्लफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारको समस्या समाधानका लागि चार सदस्यीय समिति गठन गरेकी छन्। समितिलाई विगतका आयोगका सिफारिस अध्ययन गरी एक महिनाभित्र दीर्घकालीन समाधानको मार्गचित्र र आवश्यक सिफारिस पेश गर्ने जिम्मेवारी दिइएको छ।
समितिले विस्थापित परिवारको उचित व्यवस्थापनका उपायसहित आवश्यक परे नयाँ आयोग गठन गर्नुपर्ने भए त्यसको कार्यादेश (टीओआर) समेत तयार पारेर पेश गर्नुपर्नेछ।
वन्यजन्तु सिकार आरक्षबाट राष्ट्रिय निकुञ्जमा स्तरवृद्धि हुने क्रममा स्थानान्तरण गरिएका बस्तीका जग्गासम्बन्धी समस्या अझै समाधान हुन नसकेकाले विस्थापित परिवारको व्यवस्थापनलाई प्रभावकारी बनाउन समिति गठन गरिएको मन्त्री चौधरीले बताइन्।