काठमाडौँ । सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ। नियुक्तिबारे जानकारी प्राप्त भएको पुष्टि गर्दै डा. सिंहले केही दिनभित्र नियुक्तिपत्र बुझेर जिम्मेवारी सम्हाल्ने बताएका छन्।
अध्यक्ष पदका लागि प्राप्त आवेदनमध्ये मन्त्रालयले डा. सिंह, डा. अजयकुमार झा र डा. विजय चन्द्र आचार्यको नाम अन्तिम सिफारिसमा पठाएको थियो। तीमध्येबाट सरकारले डा. सिंहलाई अध्यक्ष चयन गरेको हो।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ४६ वर्ष सेवा गरेर अवकाश प्राप्त डा. सिंह सुरेश वाग्ले स्मृति क्यान्सर सेन्टरको स्थापना तथा सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका चिकित्सक हुन्। अध्यक्ष पदका लागि मन्त्रालयमा आठ जनाको आवेदन परेको थियो भने अन्तिम प्रतिस्पर्धामा तीन जना पुगेका थिए।