काठमाडौं - पछिल्लो केही वर्षयता नेपाली मिडियामा डिजिटल पत्रकारिता तीव्र गतिमा अगाडि बढिरहँदा, सोही लहरसँगै स्थापित भएको अनलाइन समाचार प्लेटफर्म ‘खोज समाचार’ वैकल्पिक पत्रकारिताको अभ्यासमार्फत छुट्टै पहिचान बनाउन सफल देखिएको छ ।
तीन वर्षअघि सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालमा दर्ता भई सञ्चालनमा आएको ‘खोज समाचार’ हाल बेथेल मिडिया हाउस प्रा.लि. अन्तर्गत सञ्चालित छ । काठमाडौं महानगरपालिका–३२, पेप्सिकोला स्थित कार्यालयबाट सञ्चालन हुँदै आएको ‘खोज समाचार’ ले लेख र भिडियो दुवै माध्यम प्रयोग गरेर समाचार सामग्री सार्वजनिक गर्दै आएको छ ।

सञ्चारकर्मी रोशन श्रेष्ठद्धारा स्थापना भएको ‘खोज समाचार’ ले सुरुदेखि नै भ्रष्टाचार, सामाजिक विकृति र विसङ्गतिप्रति खबरदारी गर्ने उद्देश्य लिएको बताइएको छ । संस्थापक श्रेष्ठका अनुसार, खोज समाचारको उद्देश्य युवापुस्तालाई राष्ट्रिय सरोकारका विषयमा अभिमुखीकरण गर्नु पनि हो ।
हाल पाँच जना स्थायी कर्मचारीको सानो टिमले सञ्चालन गर्दै आएको यस अनलाइन मिडियाको सम्पादकीय नेतृत्व पुष्पा तामाङले सम्हालिरहेकी छन् । डिजिटल माध्यममै केन्द्रित खोज समाचारका सामग्रीहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक हुँदै आएका छन् । फेसबुकमा ८ लाखभन्दा बढी प्रयोगकर्ताको फलोअर्स तथा युट्युबमा ४५ हजारभन्दा बढी सदस्यता रहेको यस प्लेटफर्मले फरक प्रस्तुतीकरणमार्फत आम दर्शकसँग प्रत्यक्ष संवाद गर्ने शैली अपनाएको छ ।
साधन र संरचनाको हिसाबले अन्य ठूला मिडियाजस्तो व्यवस्था नभएको स्वीकार गर्दै, खोज समाचारले सानो टिमबाट पनि सत्य, सन्तुलित र उत्तरदायी पत्रकारिता सम्भव हुने विश्वासमा आफूहरू क्रियाशील रहेको बताउँदै आएको छ ।
यद्यपि, प्लेटफर्मका संस्थापक श्रेष्ठमाथि केही नयाँ राजनीतिक दल र व्यक्तिहरूप्रति पक्षपाती ढंगले समाचार सम्प्रेषण गर्ने आरोप समेत लाग्दै आएका छन्। विशेषतः रास्वपा, बालेन शाह, हर्क साम्पाङ र गोपाल हमालजस्ता नयाँ राजनीतिक अनुहारहरूलाई प्रारम्भिक चरणमा विशेष प्राथमिकता दिइएको भन्दै श्रेष्ठको शैली एकपक्षीय रहेको आलोचना हुने गरेको छ ।
पछिल्लो समय भने श्रेष्ठको कार्यशैलीमा सन्तुलन ल्याउने प्रयास देखिन थालेको छ । तर पनि नयाँ शक्ति र व्यक्तिहरुप्रति उनी अझै केही हदसम्म सकारात्मक ढंगले प्रस्तुत हुने गरेको टिप्पणी निरन्तर आइरहेको छ ।
सामाजिक सञ्जालमा प्रभावशाली उपस्थिति, जनमुखी शैली र वैकल्पिक दृष्टिकोणका साथ अघि बढिरहेको खोज समाचारले डिजिटल पत्रकारितामा छुट्टै धार निर्माण गर्ने संकेत दिइरहेको छ ।